• ४ वैशाख २०८२, बिहिबार

राष्ट्रिय परिचयपत्र बनाउन सास्ती

blog

सदरमुकाम चौतारास्थित जिल्ला प्रशासन पुगेका ज्येष्ठ नागरिक ।

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, चैत ९ गते । राष्ट्रिय परिचयपत्र बनाउनका लागि चौतारा सदरमुकाम पुग्नुपर्ने भएपछि सिन्धुपाल्चोकको ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकले सास्ती पाएका छन् । नेपाल सरकारले विभिन्न सरकारी तथा सार्वजनिक सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि ज्येष्ठ नागरिकले जिल्ला प्रशासन कार्यालय चौतारा पुगेर बनाउन सास्ती भोग्नु परेको हो । 

भौगोलिक विकटताका कारण राष्ट्रिय परिचयपत्र बनाउन जिल्लाको हिमाली क्षेत्रबाट ज्येष्ठ नागरिक तीन दिन समय खर्चेर आउनुपर्ने हुन्छ ।  विकटबाट आउँदा चर्को शुल्क बाटोमा खर्च गर्नुपर्ने बाध्यता रहेको छ । भोटेकोशी गाउँपालिका–१, लिस्तीकोटको माथिल्लो भेगबाट चौतारा पुग्न दिनभर लाग्छ । आएको दिन चौतारा बजारमा रहेको होटेलमा बास बसेर भोलिपल्ट मात्रै राष्ट्रिय परिचयपत्रको आवेदन दिन सकिन्छ । 

दिनभर लाइनमा बसेर फोटो खिचाउने, बायोमेट्रिक दिनु पर्छ । त्यस दिन पुनः सदरमुकाममा बास बस्नुपर्ने बाध्यता रहेको छ । तीन दिनमा मात्रै ज्येष्ठ नागरिक आफ्नो घर फर्कनुपर्ने अवस्था 

रहेकाले सुविधाको नाममा सास्ती खेप्नु परेको उनीहरूले गुनासो गरेका छन् ।

राष्ट्रिय परिचयपत्र बनाउन उक्त वडाबाट चौतारा सदरमुकाम पुग्न सवारीसाधन रिजर्भ गरेर आउनुपर्ने, बास र खाना गरेर २० हजार रुपियाँभन्दामाथि लाग्ने गरेको स्थानीयले बताएका छन् । यात्रुवाहक बस सञ्चालन नहुने भएका कारण लिस्तीकोटका स्थानीयले चर्को मूल्य तिरेर सदरमुकाम आउनुपर्ने बाध्यता रहेको छ ।  

जुगल गाउँपालिका–३, तेगाबाट सदरमुकाम चौतारा पुग्न दुई दिन लाग्छ । त्यसमा पनि ज्येष्ठ नागरिकलाई समय धेरै लाग्ने गरेको छ । तेगागाउँकी ७५ वर्षीय तेउरी लामाले भन्नुभयो, “गाउँमै परिचयपत्र बनाउन पाइने व्यवस्था भए यसरी पीडा भोग्नुपर्ने थिएन । वृद्ध अवस्थामा बोलेरो यात्रा, त्यसपछि रोगी शरीरले कसरी सहनु ? आउँदा पीडाले आइयो, अब जाँदा कसरी जाने हो, सम्झँदा पनि शरीर दुखेर आउँछ ।” 

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकाबाट सदरमुकाम आएर काम गरी जाँदा तीन दिन लाग्ने गरेको छ । भौगोलिक विकटताकै कारण ज्येष्ठ नागरिकलाई सदरमुकाम पुगेर सेवा लिन ज्यादै कठिन भएको छ । 

प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रत्येक पालिकासँग समन्वय गरेर घुम्ती शिविर गर्न चाहे पनि स्थानीय तह इच्छुक नदेखिएकाले सेवा दिन नसकिएको बताउनुभयो । उहाँले घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्रको सेवा दिन तालिम प्राप्त जनशक्ति र बजेट अभाव रहेको बताउनुभयो । हरेक पालिकामा शिविर राखेर सेवा दिन माथिल्लो निकायमा कुरा भइरहेको उहाँले बताउनुभयो । सिन्धुपाल्चोकमा करिब १५ हजार ज्येष्ठ नागरिक रहेको अनुमान छ ।