काठमाडौँ, फागुन २५ गते । नेपाल युगान्डामा जारी महिला टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ ।
एन्टेब्बे क्रिकेट ओभल मैदानमा आइतबार जितका लागि युगान्डाले दिएको ७६ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा नौ विजकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि साना प्रविनले सर्वाधिक १७ रन बनाउनुभयो । पुजा महतो १६ र रुबिना क्षेत्रीले १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा युगान्डाकी कप्तान जानेत बाबजीले तीन विकेटअ लिनुभयो । सारा वालाजाले दुई विकेट झार्नुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ७५ रन बनाएको थियो । युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन बनाउनुभयो ।
यस्तै स्टेफेनिया नाम्पिलिनाले १४ र मलिषा अरिकोटाले ११ रन बनाउनुभयो । बलिङमा नेपालका पुजा महतोले तीन तथा कप्तान इन्दु बर्माले दुई विजकेट लिनुभयो । चार टोली सहभागी सिरिजमा नेपालको यो पहिलो जित हो । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको तिथयो ।
सहभागी टोलीले एक आपसमा दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबिच उपाधिका लागि भिडन्त हुनेछ । नेपालले तेस्रो खेल सोमबार हङकङसँग खेल्नेछ ।