• १९ चैत २०८१, मङ्गलबार

सात महिनामा एक हजार २९० महिला हिंसाको उजुरी

blog

जिल्ला प्रहरी कार्यालय सप्तरी । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), फागुन २३ गते ।
सप्तरीका विष्णुपुर गाउँपालिका वडा नं ४ का २० वर्षीया सुमनकुमारी मण्डल २०७९ फागुनमा तिलाठी कोइलाडी गाउँपालिका सडेपारका वर्ष २५ का राधेश्याम मण्डलसँग विवाह बन्धनमा बाँधिएको एक हप्तामै श्रीमान् र परिवारबाट हिँसाको सिकार हुनुपर्यो ।

विवाहमा दुई लाख ५० हजार नगद, आठ आना सुन र सरसामान दाइजो दिए पनि थप दाइजोको माग गर्दै उहाँमाथि हिंसा हुँदै आएको बताइएको छ ।

श्रीमानसहित परिवारका सदस्यले मेरो घाँटीमा पासो लगाई ज्यान मार्ने प्रयास गरेपछि भागेर ज्यान जोगाउन सफल भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘घटनाको विषयमा माइतीमा जानकारी गराउँदा बुवा र कक्षा १० मा पढ्ने भाइ लिन मेरो घर आएपछि बुवा र भाइले उल्टो ज्यान मार्ने मुद्दा खेप्नुपर्यो ।’’ उहाँ अहिले माइतीमा बस्तै आउनुभएको छ ।

त्यस्तै सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नं ४का २० वर्षीया गायत्री मण्डलको विवाह २०८१ वैशाखमा भएको थियोे । विवाह भएको केही दिन पछि तिमीसँग बस्दिन भन्दै श्रीमानसहित परिवारका सदस्यले कुटपिट गरेर घर निकाला गरेको उहाँ बताउनुहुन्छ ।

श्रीमानको विवाह अघिदेखि अर्कै महिलासँग सम्बन्ध भएकाले हिँसाको सिकार भई घर निकाला हुनुपरेको उहाँको भनाइ छ । उहाँले पनि अहिले माइतीमा बस्न बाध्य हुनुहुन्छ ।

पछिल्लो समय सप्तरीमा महिला हिँसामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ साउनदेखि माघ महिनासम्म एक हजार दुई सय ९० महिला हिंसाको घटनाको उजुरी परेको छ ।

जसमध्ये छ सय सात सहमतिमा फर्छौट भइसकेको छ । उजुरीमध्ये अभद्र व्यवहारमा दुई, सवारी अङ्गभङ्गमा एकसहित तीन वटा मुद्दा अदालतमा चलिरहेको रहेको छ । छ सय ७२ यथावत अवस्था रहेको छ । सम्पर्कमा नआएको सात र एक जना अन्य निकायमा गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिप्रका सप्तरीमा आर्थिक वर्ष २०८०/०८१ आ.व २०७९/०८० तथा २०७८/०७९ तीन वर्षको अबधिमा पाँच हजार तीन सय महिला हिँसाको घटनाको उजुरी परेको थियोे  ।

जसमध्ये अहिले सम्ममा पाँच हजार दुई सय ६१ सहमतिमा फर्छौट भइसकेको छ । उजुरी आएको मध्ये कुटपिटको पाँच, अभद्र व्यवहार चार, बोक्सीको आरोप दुई, ज्यानमार्ने उद्योगसहित १३ वटा मुद्दा अदालत गइसकेको छ  । जसमध्ये २६ जना सम्पर्क आएको छैन । यस अबधिमा ४४ जना पीडकहरूलाई आवश्यक कारवाही गरिएको जिप्रकाको तथ्याङ्कमा छ ।

हिंसाको घटना सबैभन्दा बढी घरपरिवार तथा छर छिमेकबाट हुँदै आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ । हिँसामा पर्ने सबैभन्दा बढी २० देखि ४० वर्षसम्मका महिला रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हिँसामा पर्नुभएका महिला उजुरी लिएर आउनुभयो भने हामी संवेदनशिल भई समस्या समाधान तर्फ ध्यानाकर्षण गर्दै आएका छौँ ।’’

गजेन्द्रनारायण सिंह अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) का प्रमुख मनिषा सिम्खडाले चालु आर्थिक वर्षको ६ महिना भित्र तीन सय १० जना हिंसा पीडितले यस केन्द्रबाट उपचार तथा सहयोग पाएको जानकारी दिनुभएको छ ।

गत आर्थिक वर्षमा पाँच सय १० जनाले उपचार तथा सहयोग पाएको जानकारी उहाँले दिनुभयो  । उहाँले भन्नुभयो, ‘‘हिंसामा पर्नुभएको अधिकांश बालिका तथा महिला नै रहेका छन् ।’’

जवरजस्ती करणी, घरेलु हिंसा, आर्थिक समस्याको शिकार, श्रीमानबाट पीडित जस्ता हिंसाको सिकार भएर पीडितहरू आइरहनुभएको उहाँले बताउनुभयो ।

जवरजस्ती करणी छिमेकी र आफन्तबाट, घरेलु हिंसा श्रीमान् तथा परिवारका सदस्य तथा छिमेकीहरूबाट बढी हिंसा भएको घटनाहरू आउने गरेको छ । अधिकांश पीडितहरू सिकिस्त बिरामी भएको बेला आएपछि यस केन्द्रबाट उपचार गराएर तत्काल आवश्यक सामग्री लुगा, औषधी खाना दिई आवश्यक कानुनी उपचारमा पहल गर्दै आएको उहाँले जानकारी दिनुभयो ।