• १९ फागुन २०८१, सोमबार

प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवाललाई सफाइ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १९ गते  । विशेष अदालतले झुटा विवरणका आधारमा पदावधि लम्ब्याई गैरकानुनी लाभ लिएको आरोप लागेका नेपाल बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य सिलवाललाई सफाइ दिएको छ । नागरिकताको झुटा विवरणका आधारमा सेवा अवधिभन्दा बढी पदमा रही लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मङ्सिर २४ गते मुद्दा दायर गरेको थियो । विशेषले आइतबार अभियोगबाट सफाइ दिएको हो । 

न्यायाधीश तेजनारायणसिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवाललाई सफाइ दिएको हो । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले सिलवाललाई सफाइ दिने फैसला भएको बताउनुभयो । 

पदावधि रहँदै आयोगले मुद्दा दायर गरेपछि सिलवाल निलम्बनमा पर्नुभएको थियो । सेवामै रहेको भए गत माघ १८ गतेसम्म उहाँको कार्यकाल थियो । निलम्बनकै अवस्थामा उहाँको कार्यकाल सकिएको थियो । सिलवालको स्थानमा सरकारले प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्त गरिसकेको छ । 

आयोगले सिलवालले उमेर ढाँटी सेवामा रहेर ३६ लाख ६२ हजार १५४ रुपियाँ लाभ लिएको दाबी गरेर बिगो कायम गरेको थियो । बिगो अनुसार जरिबाना र कैदको माग पनि अख्तियारले गरेको थियो तर अदालतले अख्तियारको मागदाबी अस्वीकार गरेको हो । अख्तियारले कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्दा जन्ममिति २०१८ कात्तिक २४ गते कायम गरेको देखिएको भन्दै थप सजायको माग पनि गरेको थियो । 

नागरिकता केरमेट गरी जन्ममिति संशोधन गरेर पदावधि बढाएको आरोप सिलवालमाथि अख्तियारले लगाएको थियो । आयोगको दाबी अनुसार पहिलो पटक २०३२ फागुन २४ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट नेपाली नागरिकता लिनुभएको थियो । नागरिकता प्राप्त गर्दा सिलवालको उमेर १६ वर्ष उल्लेख थियो । सिलवालले पछि २०६६ वैशाख ७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रतिलिपि लिनुभएको थियो । त्योबेला जन्म मिति २०१६ कात्तिक २२ गते उल्लेख गरिएको आयोगको दाबी छ । 

तर, त्रिभुवन विश्वविद्यालयबाट जारी स्नातक तहको ट्रान्सक्रिप्टमा भने सिलवालको जन्ममिति २०१५ साउन १५ गते उल्लेख गरिएको आयोगको जिकिर थियो । पछिल्लो जन्ममितिका आधारमा सिलवाल २०४३ साउन १ गते निजामती सेवामा शाखा अधिकृतका रूपमा प्रवेश गर्नुभएको थियो । यही उमेरकै आधारमा उहाँ ५८ वर्ष उमेरदहका कारण अवकाश पाउनुभएको थियो ।