• १६ फागुन २०८१, शुक्रबार

सम्झौतापछि किसान आन्दोलन स्थगित

blog

सम्झौताबारे जानकारी गराउँदै खुटी नहर संघर्ष समितिका अगुवाहरु । तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, फागुन १६ गते । खुल्ला रुपमा खुटीनहर सञ्चालन हुनुपर्ने माग राखेर खुटी नहर संघर्ष समितिले गर्दै आइरहेको आन्दोलन तीन बुँदे सम्झौतापछि स्थगित भएको छ । 

विहीबार जिल्ला प्रशासन कार्यालय सिरहामा अवेरसम्म सरोबारवालाबिच भएको वार्ताबाट तीन बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरी आन्दोलन स्थगित गरिएको किसान संघर्ष समितिका संयोजक धर्मराज चौधरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । 

खुल्ला नहर सञ्चालनको लागि नगरपालिकालाई आन्दनोलनरत किसान संघर्ष समितिले सहयोग गर्ने, नहरमा हयुमपाइप राखी अघि बढिरहेको ढल निर्माण कार्य रोक्ने, अतिक्रमित जग्गा खाली गराउन नगरपासिलकाले थाल्ने कार्यमा राजनीतिक दलहरुले समेत सहयोग गर्ने र किसान संघर्ष समितिले थालेको आन्दोलन स्थगित गर्ने सम्झौता भएको छ । 

विगत सात महिनादेखि चलिरहेको किसान संघर्ष समितिको आन्दोलनको कारण लहान क्षेत्रमा देखिएको अशान्ति र विकास निर्माणको काममा समेत असर परिरहेको निस्कर्षमा पुगेर सरोकारवाला पक्षहरु सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको कार्यकक्षमा सिरहा –१ का संघीय सांसद रामशङकर यादव, प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी, लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरी, लहान नगरपालिकाका वडाध्यक्षहरु सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा सम्झौता भएको थियो । 

चन्द्र शमशेरको पालामा खनिएको खुटी नहरमा दुई वर्षअघि नौ करोडको लागतमा हेडवक्र्स निर्माण भइसकेको थियो । सहरी क्षेत्रमा अढाइ किलोमिटर नहर क्षेत्रमा ढल निर्माणका लागि हयुमपाइप राख्न थालेपछि किसान भेला भई किसान संघर्ष समिति गठन गरेर विभिन्न चरणका आन्दोलन गर्दै आइरहेका थिए ।