साहारा लिम्बू
फुङलिङ, फागुन १५ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आगलागी हुँदा आठ लाख रुपियाँ बराबरको क्षति भएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङस्थित इन्द्रबहादुर निरौलाको घरमा आगलागी हुँदा आठ लाख बराबरको क्षति भएको हो ।
निरौलाको ढुङ्गा, माटोले बनेको जस्ताको छानो भएको ३ तले घरमा विद्युत् सर्ट भई अचानक आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक डीएसपी रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागी भएको भन्ने खबर पाउनासाथ तत्काल प्रहरी चौकी हाङपाङबाट प्रहरी टोली खटाइ स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
आगलागीबाट घरभित्र रहेको अन्नपात, भाँडाबर्तन र लत्ताकपडा गरी आठ लाख बराबरको क्षति भएको छ । यस्तै, मानवीय र चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ । घरधनी विगत ८–९ महिना अघिबाट मोरङको लेटाङमा बसोवास गर्दैआएको र हाल उहाँको भतिजो दिनेश निरौलाले रेखदेख गर्दैआएको बताइएको छ।