वासुलिङ समाचारदाता
बैतडी, फागुन ११ गते । वन्यजन्तुको क्षति बढ्दै जाँदा बैतडीमा पछिल्लो समय उखु खेती घट्दै गएको छ । बँदेल र बाँदरबाट क्षति बढेको र मेहनत तथा लागत अनुसार फाइदा नहुँदा उखु खेती कम भइरहेको हो । उखु खेती कम भएपछि बैतडीका विभिन्न ठाउँमा सजिलै पाइने स्थानीय गुडको उत्पादन घटेको छ । मङ्सिरदेखि नै स्थानीय बजारमा पाइने बैतडीको गुड पछिल्लो समय मुस्किलले पाइने गरेको छ ।
राति बँदेल र दिउँसो बाँदरले उखु बालीमा क्षति पुर्याउन थालेपछि ग्रामीण भेगमा उखु खेती छाड्नु परेको स्थानीय कृषक बताउँछन् । गुड बनाउने भाँडाकुँडा, दाउरा, कोललगायतका सामग्रीको लागत बढेका कारण पनि उखु खेती प्रभावित भएको सुर्नया गाउँपालिका–३ का कृषक देवराज भट्ट बताउनुहुन्छ । आजकल कृषि उपज बिक्रीका लागि समस्या नभए पनि पछिल्ला वर्ष वन्यजन्तुबाट बालीनालीमा क्षति हुने क्रम बढ्दै जाँदा किसानले लाभ लिन नसकेको उहाँले बताउनुभयो ।
मुस्किलले बँदेल र बाँदरबाट जोगाएको उखु उत्पादनबाट मेहनत अनुसारको मूल्य नपाएको कृषकको गुनासो छ । स्थानीय बजारमा गुड प्रतिकिलो २०५ रुपियाँसम्ममा कारोबार हुँदै आएको छ । उखु पेल्ने मेसिनको एक लाख रुपियाँ हाराहारी मूल्य पर्छ ।
हिउँदमा अन्य बाली नहुने हुँदा जङ्गली जनावरबाट उखुमा क्षति बढी हुँदै आएको छ । बैतडीका सबै जसो गाउँमा उखु खेती हुँदै आएको छ । डिलासैनी, दोगडाकेदार, पुर्चौडी, सुर्नया र सिगास गाउँपालिका क्षेत्रमा उखु खेती र गुड उत्पादन बढी हुने गरेको छ । यहाँ उखुको मुख्य उत्पादन गुड नै हो ।
चिसो ठाउँ तथा लेकतिर मङ्सिरदेखि उखु पेल्न सुरु हुन्छ भने बेँसी तथा औलमा फागुनपछि मात्रै पेल्ने चलन छ । उखु पेल्ने समयमा बसाइँ सरेर तराई तथा सहरतिर गएका पनि तातो गुड खान भन्दै पुख्र्यौली थलो र आफन्तकहाँ पहाडतिर उक्लने गरेका छन् ।
“परम्परागत कोलमा पेलेको उखुको रस पाँच/छ घण्टा तामाको ताउलोमा पकाएर बनाइने स्थानीय गुड औषधीका रूपमा समेत लिइन्छ । गाउँमा थोरैले मात्र खेती गर्छन्, धेरै जसो गाउँमा त उखु उत्पादन घरायसी उपयोगमा सीमित भएको छ,” दशरथ चन्द नगरपालिका–१ का कृषक महेन्द्र भट्टले भन्नुभयो, “मेहनत र लगानी बढी हुने भएकाले उखु खेती गर्न समस्या छ ।”
स्थानीय गुडको बजार समस्या नभए पनि जनावरले गर्ने क्षति र मेहनत गर्ने जनशक्ति अभावका कारण उत्पादन नै हुन नसकेको कृषि ज्ञान केन्द्र बैतडीले बताएको छ । बैतडीमा २८० हेक्टरमा उखु खेती हुँदै आएको छ । बैतडीमा प्रतिहेक्टर १५ मेट्रिक टन उखु उत्पादन हुने गरेको ज्ञान केन्द्रका सूचना अधिकारी महेश पाण्डेले बताउनुभयो ।
पछिल्लो समय युवा जनशक्ति रोजगारीका लागि गाउँ छाडेर बाहिर जानुपर्ने बाध्यता र स्थानीय सरकारले कृषिप्रति उदासीन हुँदा खेती घट्दै गइरहेको सुर्नया गाउँपालिका–२ का अगुवा कृषक नरेन्द्र विष्टले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र प्रमुख हरिदत्त जोशी वन्यजन्तुको क्षति र जनशक्ति अभावका कारण उखु खेती घटेर करेसाबारीमा सीमित भइरहेको बताउनुहुन्छ । “व्यावसायिक उखु खेती छाडेर करेसाबारीमा सीमित भएको छ,” उहाँले भन्नुभयो, “जनावरको क्षतिसँगै फाइदा र जनशक्ति अभावले हरेक वर्ष खेती घट्न थालेको हो ।”