काठमाडौँ, फागुन १० गते । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबल चैत १६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ ।
एनएसएलका लागि आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले शनिबार खेलाडीको मिनी अक्सन (बोलकबोल) गरेको छ । मिनी अक्सनका लागि बन्द सुचीमा रहेका ६० खेलाडीमध्ये १५ जना ‘ए’ श्रेणी र ४५ जनालाई ‘बी’ श्रेणीमा राखिएको थियो ।
सहभागी टोलीले ‘ए’ मा रहेका खेलाडीलाई दुई लाखदेखि अधिकताम चार लाख रुपियाँसम्म बोली लगाएका हुन् । यस्तै ‘बी’ श्रेणीमा रहेका खेलाडीलाई न्युनतम एक लाख ५० हजार देखि अधिकतम दुई लाख रुपियाँमा अनुबन्ध गरेका छन् ।
अक्सनमा रहेका ६० मध्ये ३९ खेलाडी अनुबन्ध भएका छन् । पाँच खेलाडीले २० लिस्टबाट स्थान बनाए भने १६ खेलाडीलाई कुनै पनि टोलीले लिन मानेनन् । अक्सनको ‘ए’ श्रेणीमा रहेका आठ खेलाडी अधिकतम चार लाख मुल्यमा अनुबन्ध भएका छन् ।
सर्वाधिक मुल्य पाउने खेलाडीमा मणिकुमार लामा, दिनेश हेम्जन, पासाङ लामा, आशिष गुरुङ, अभिषेक लिम्बू, जिलेस्पीजंग कार्की, सुमित श्रेष्ठ र सन्तोष खत्री हुनुहुन्छ ।
‘ए’ बाट विवेक पौडेल, सुरज ज्यु ठकुरी र प्रदीप लामा पनि अनुबन्ध हुनुभयो भने दीप कार्कीलाई सुरुमा कुनै टोलीले अनुबन्ध नगरे पनि लुम्बिनी एफसीले २० लिस्टमार्फत अनुबन्ध गरेको छ ।
‘ए’ श्रेणीमा रहनुभएका भरत खवास, विकेश कुथु र विशाल सुनारलाई कुनै टोलीले अनुबन्ध गर्न चाहेन । यस्तै ‘बी’ श्रेणीमा रहनुभएका नवयुग श्रेष्ठलाई पनि कुनै टोलीले अनुबन्ध गर्न चाहेन ।
सात टोली र मार्की खेलाडी
तेस्रो संस्करणको एनएसएलमा सात फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । जसमा साविक विजेता ललितपुर सिटी एफसीसँगै झापा एफसी, एफसी चितवन, काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्दैछन् ।
यसअघिका संस्करणमा ६ टोलीले भाग लिएका थिए । यसपटक एनएसएलका मार्की खेलाडीहरूमा अनन्त तामाङ (ललितपुर), अन्जन विष्ट (चितवन), लाकेन लिम्बू (झापा), मनिष डाँगी (बुटबल), कृतिश रत्न छुन्जु (धनगढी), समिर तामाङ (पोखरा) र रोहन कार्की (काठमाडौँ) हुनुहुन्छ ।
गत संस्करणमा सहभागीता जनाएको वीरगन्ज युनाइटेड एफसी र स्पोर्टिङ इलामले यसपटक भाग नलिने निर्णय गरेको छ ।
एनएसएल खेलाडी ढाँचा
एनएसएलका लागि यसपटक हरेक टोलीले २२ वा २३ जनासम्म खेलाडी राख्न पाउनेछन् । जसमा एम जना मार्की खेलाडी हुनेछ । सबै टोलीले मार्की खेलाडी चयन गरिसकेका छन् ।
मार्कीसँगै एउटा टोलीले तीन जना आफ्नो पूर्व खेलाडीलाई रिटन गर्न पाउनेछ । जसअनु्सार श्रेणी ‘ए’ बाट रिटेनसहित दुई देखि तीन खेलाडी र ‘बी’ बाट ६ खेलाडी राख्न पाउने व्यवस्था छ
अक्सनपछि ‘सी’ बाट चार र ‘डी’ बाट एक खेलाडी राख्न पाउने छन् । यस्तै टोलीमा ६ जना विदेशी वा आइकोनिक खेलाडी राख्न पाउने व्यवस्था छ । विदेशी खेलाडीमध्ये एक जना एसियाबाट र विदेशमा रहेका नेपाली खेलाडीलाई अवसर दिन एक जना एनआरएनए (बैकल्पिक कोटा) तय गरिएको छ ।
‘सी’ श्रेणीको खेलाडी अक्सन अर्को सता हुने आयोजकले जनाएको छ ।