• १० फागुन २०८१, शनिबार

दोषी जोकोही भए पनि सजाय पाउँछ : गृहमन्त्री लेखी

blog

सिराहाको नवराजपुर गाउँपालिका –१ भगवतीपुरको घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री राजकुमार लेखीसहित सुरक्षा अधिकारी । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, फागुन ९ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सिराहाको नवराजपुर गाउँपालिका –१ भगवतीपुरकी बलात्कृत भई मृत्यु भएकी रिङ्कु सदायको घटनामा संलग्न दोषीलाई कारवाही गरिछाड्ने बताउनुभएको छ ।  

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा शुक्रबार घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । घटनाको अनुसन्धान जारी रहने र दोषीलाई पक्राउ गर्न एक जना प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन भइसकेको उहाँले जानकारी दिनुभयो ।

दोषी छिट्टै पक्राउ पर्ने उहाँको भनाइ छ । मन्त्री लेखीले घटनाबारे जानकारी लिन आफू स्वयं घटनास्थल पुगेर दोषीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताउनुभयो । उहाँले यस घटनामा स्थानीय राजनीतिकर्मीले नै घटनालाई ढाकछोप गर्न खोजेको आफूले जानकारी पाएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा मधेश प्रदेशका प्रहरी प्रमुख एवम डिआइजी लालमणि आर्चायले उक्त घटनाको प्रहरीले विभिन्न पक्षबाट अनुसन्धान जारी राखेको बताउनुभयो । दोषी छिट्टै कानुनी दायरामा आउने विश्वास दिलाउनुभयो ।

उहाँले फागुन ४ गते प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको संयोजकत्वमा सो घटनाको छानबिनका लागि टोली गठन गरी परिचालन गरिएको बताउनुभयो । पत्रकार सम्मेलनमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन सचिव उद्धवप्रसाद रिजालसहित उच्च अधिकारीहरुको उपस्थिति थियो ।