• १० फागुन २०८१, शनिबार

जनकपुरधाममा ‘डिम्याप्स पोर्टल प्रणाली’ हस्तान्तरण

blog

लक्ष्मी चौधरी

जनकपुरधाम, फागुन ९ गते । प्रविधिको माध्यमबाट घर नम्बरिङ् तथा सडक नामकरणलाई व्यवस्थित गर्न इन्टरनेट बेसमा आधारित ‘डिम्याप्स पोर्टल प्रणाली’ जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

बिहीबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा, द एसिया फाउण्डेशनको डाटा फर डेभलोपमेन्ट परियोजना अन्तर्गत घर नम्बरिङ् तथा सडक नामकरणबारे नक्सा प्रालिले निर्माण गरेको डिजिटल नक्सा तथा ठेगाना व्यवस्थापन प्रणाली उपमहानगरलाई हस्तान्तरण गरेको हो । जहाँ उक्त प्रवlधिबाट तयार पारिएका उपमहानगरको नक्सा तथा २५ वटै वडाको क्षेत्र छुट्याइएको नक्सा वडालाई हस्तान्तरण गरिएको थियो ।

सहरी योजना, यातायात व्यवस्थापन, विपद् व्यवस्थापन, आकस्मिक सेवा प्रवाह तथा घर ठेगाना पत्ता लगाउने लक्ष्यसहित यो प्रणाली विकसित गरिएको परियोजनाका कार्यक्रम अधिकृत प्रकाशमणि साहले जानकारी दिनुभयो । उहाँले प्रणालीले GIS प्रविधिको प्रयोग गरी उपमहानगरपालिकाभित्रको घर नम्बरिङ् तथा सडक नामकरणलाई डिजिटल रूपमा व्यवस्थित गर्नेछ । उहाँले भन्नुभयो, “आगामी दिनमा उपमहानरपालिकाभित्र निर्माण भएका नयाँ घर तथा सडकहरुलाई समेत यसमा समावेश गरेर डिजिटल माध्यमबाट घर तथा सडक पत्ता लगाउन याे प्रणाली उपयोगी हुने विश्वास गरिएको छ ।”

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले डिजिटल ठेगाना प्रणालीले नगर प्रशासनलाई थप प्रभावकारी बनाउने बताउनुहुँदै भन्नुभयो, “यस प्रविधिको प्रयोगले यातायात व्यवस्थापन, कर प्रणाली, विपद् व्यवस्थापन तथा आकस्मिक सेवाहरूको सहज सञ्चालनमा टेवा पुर्‍याउनेछ ।” उहाँले आगामी दिनमा यस प्रणलीले जनकपुरधाम उपमहानगरपालिकालाई व्यवस्थित बनाउने बताउनुभयो ।

सहरी योजना, नगर प्रशासन, आपतकालीन सेवा तथा डिजिटल शासनलाई सुदृढ बनाउने लक्ष्यसहित यो प्रणाली विकसित गरिएको नक्सा प्रालिले जनाएको छ । प्रणालीले सडकको सुरूवाती बिन्दुबाट दूरीको आधारमा घरको ठेगाना उत्पादन गर्नेछ । साथै, भवन र सडकको इन्भेन्ट्री तथा जिओडेटाबेसको प्रयोग गरी उपमहानगरपालिकाभित्रको कुनै पनि घरको ठेगाना स्वचालित रूपमा सिर्जना गर्न सक्षम हुनेछ ।

नक्सा प्रालिले ड्रोनको सहायताले जनकपुरधाम उपमहानगरापलिका क्षेत्रका सम्पूर्ण घर नम्बरिङ् तथा सडक नामकरण गरिएको जनाएको छ । जहाँ ५० हजार दुई सय ४१ घर सर्वेक्षण गरिएका छन् भने एक हजार आठ सडक नामकरण गरिएका छन् ।

उपमहानगरपालिकाको समन्वयमा युके इन्टरनेशलनको आर्थिक सहयोग तथा फाउण्डेशनको डाटा फर डेभलोपमेन्ट परियोजना अन्तर्गत नक्सा प्रालिले निर्माण गरेको डिम्याप्स प्रणालीको पूर्ण कार्यान्वयन गरी घर–ठेगाना व्यवस्थापनलाई डिजिटल प्रणालीमार्फत आधिकारिक बनाउने योजनामा मद्दत पुग्ने विश्वास गरिएको छ भने  शुक्रबार उपमहानगरपालिकाका प्राविधिक कर्मचारीलाई सो प्रविधि प्रयोगसम्बन्धी प्रशिक्षणसमेत दिइएको छ ।

 कार्यक्रममा उपमहानगरपालिकाका पदाधिकारी, वडाका पदाधिकारी, नक्सा प्रालिका पदाधिकारी, फाउण्डेशनका पदाधिकारीलगायतको सहभागिता  थियो ।