• १० फागुन २०८१, शनिबार

'फोर नेसन्स कप’

लेबनानलाई हराउँदै नेपाल एक खेल अगाडि फाइनलमा

blog

लेबनानविरुद्ध प्रहार गर्दै सावित्रा भण्डारी ‘साम्बा’ । तस्बिरः एन्फा

 काठमाडौँ, फागुन ८ गते । नेपाल ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले लेबनानलाई १–० गोलले हरायो ।

नेपाल एक खेल अगाडि फाइनलमा पुगेको हो । नेपालको कठिन जितमा सावित्रा भण्डारी ‘साम्बा’ ले ४२ औँ मिनेटमा गोल गर्नुभयो । खेलमा लेबनानले पनि दुई  वटा गोल गर्ने राम्रा अवसर गुमाएको थियो । इन्जुरी समयमा लेबनानको प्रहार बारमा लागेको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानलाई १–० गोलले हराएको थियो । नेपालको जितसँगै म्यानमार पनि एक खेल अगाडि नै फाइनलमा पुगेको छ । म्यानमारले बिहीबार नै कीर्गिस्तानलाई ५–० गोलले हराएको थियो । लगातार दोस्रो जितसँगै नेपाल र म्यानमारले ६–६ अङ्क बनाए । 

म्यानमारले पहिलो खेलमा लेबनानलाई ३–१ गोलले हराएको थियो । चार देशसम्मिलित प्रतियोगितामा कीर्गिस्तान र लेबनान बाहिरिएको छ ।एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप–२०२६ छनोट र फिफा महिला विश्वकप–२०२७ को छनोटको तयारीको रूपमा लिएको छ ।