हरिप्रसाद कोइराला
उर्लाबारी, फागुन ५ गते । उत्तरी मोरङको केरावारी–याङ्सिला क्षेत्रबाट सङ्कटापन्न अवस्थामा रहेको सालक चोरी तस्करी बढेपछि स्थानीय नमूना पर्माकल्चर सिकाइ थलो याङ्सिलाले ‘तस्करी’सडक नाटक प्रदर्शन गरेको छ ।
संसारभर फेब्रुवरीको तेस्रो शनिबार विश्वसालक सालक संरक्षण दिवस मनाइरहेको बेला मोरङको याङशिलामा सालक संरक्षणका लागि जनचेतना फैलाउन सडक नाटक प्रस्तुत गरिएको हो । मोक्ष थिएटरका कलाकारहरूले प्रस्तुत गरेको २२ मिनेटको नाटकमा किरण लिम्बू र रिना राई सालकको रूपमा प्रस्तुत हुनु भएको थियो ।
जङ्गलमा रमाइरहेको सालक गाउँहरूले जङ्गलमा घाँस दाउरा गर्न जाँदा देख्छन् । घाँस दाउरा गर्न गएका मध्ये अधिकांश सालक किसानको साथी हो, संरक्षण गर्नुपर्छ भनिरहेका थिए ।
तर, उनीहरू मध्ये कै तीर्थराज विश्वकर्माले सालकको बिक्री हुने र करोडौं पैसा कमाइ हुने सुनेका रहेछन । त्यसपछि उनले गाउँले साथीको कुरा नसुनी सालकको पक्रन्छन् । तर, गाउँघर कै साथीहरूले प्रहरीलाई सुनाइ दिन्छन् ।
प्रहरीले सालक चोरी गर्नेलाई पक्राउ गरेर जेल पठाउँछन् । सालक चोरी निकासी गर्नेलाई ५ लाख रुपियाँ र १० वर्ष कैद जरिवाना हुने सुनाइन्छ । त्यसपछि गाउँले सबैले सालक संरक्षणको प्रतिबद्धता गर्छन् ।
सडक नाटकमा एलिना रुम्दाली, मेनुका मगर, सन्दीप मादेन, प्रियङ्का राई र तीर्थराज विश्वकर्माले अभिनय गर्नुभएको छ । याङशिलाको सतिसालेमा भेला भएका सयौंले नाटक हेरेका थिए । नाटकले सालक संरक्षणमा टेवा पुग्ने स्थानीयको विश्वास रहेको छ ।