• १२ फागुन २०८१, सोमबार

‘फोर नेसन्स कप’

म्यानमारको विजयी सुरुवात

blog

बल खोस्ने प्रयास गर्दै म्यानमार र लेबनानका खेलाडी ।

काठमाडौँ, फागुन ५ गते । म्यानमारले ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा सोमबार भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलले हरायो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । चारवटै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा म्यानमारका लागि विन थेन्गीथुनले ५६औँ मिनेटमा गोलको खाता खोल्नुभयो । विनको डिबक्स बाहिरको प्रहारले सोझै जाली चुमेको थियो ।

त्यसपछि लेबनानकी लैजा स्कन्डरले ६०औँ मिनेटमा विपक्षी गोलरक्षकलाई विटगर्दै खालै पोस्ट्मा गोल गर्नुभएको थियो । बराबरी गोलपछि आक्रामक देखिएको म्यानमारले ७२औँ मिनेटमा दोस्रो गोल थप्यो । स्वेय यी टुनले हेड गोल गर्दै टोलीको उत्साह जगाउनुभयो । 

म्याट नोय खिनाले ७५औँ मिनेटमा रिवाउन्ड प्रहारमा गोल गर्दै टिमलाई सजिलै जिताउनुभयो । यस जितसँगै चार टिम सम्मिलित प्रतियोगिातमा म्यानमारले तीन अङ्क जोडेको छ । लेबनानले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । आजै साँझ घरेलु टिम नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगितामा भाग लिन सोमबारनै नेपाली स्टार स्ट्राईकर सावित्रा भण्डारी साम्बा नेपाल आइपुग्नुभएको छ । उहाँ फ्रान्समा ब्यवसायिक लिग खेल्दै आउनुभएको छ । म्यानमार र लेबनानको खेलअघि आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘फोर नेसन्स कप’ को ट्रफी सार्वजनिक गरेको थियो ।

लिग चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुनेछ । एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप–२०२६ छनोट र फिफा महिला विश्वकप–२०२७ को छनोटको तयारीको रूपमा लिएको छ ।