महेशकुमार दास
जलेश्वर, फाल्गुन ५ गते । गरे के हुँदैन भन्ने उदाहरण अहिले महोत्तरी गौशाला–३ इटाटारस्थित हुनमान फलफुुल नर्सरी गएर हेरे पुग्छ । नर्सरी व्यवसायको हुनमान भनेर चिनिने गौशाला–३ इटाटारका किसान रामबलेस साह मिहिनेतले माटोमै सुन फलाउन सकिने उदाहरणीय व्यक्तित्व समेत बन्न सफल हुनु भएको छ ।
२०५२ साह तिर २५ वर्षको लक्का जवान हुँदा रामबलेस साइकलमा मट्टितेल राखेर दिनभरी गाउँघर बरालिदै बेच्न हिड्दथें र त्यसबाट आएको दैनिक ३० रुपियाँले आफ्नो र परिवारको जीवन निर्वाह गर्दै आएका थिए । तर त्यहि रामवलेस अहिले वर्षको लाखौं आम्दानी गरेर आफ्नो परिवारलाई राम्रो भरण पोसन मात्र होइन समाजकै लागि आईडल (उदाहरण) बन्न सफल हुनुभएको छ ।
गाउँ गाउँ डुलेर मट्टितेल बेचेर आएको आम्दानीले खान लाउन नै धौ धौ पर्थ्याे । रामबलेस भन्नुभयो, “पहिल्यै कसैसँग ५०० सापटी माग्दा पनि दिँदैनथे, अहिले त म आफैँ कहीँकतै लगानी गर्नु परेमा एक दुई लाख लगानी गर्न सक्षम भैसकेको छु । नर्सरी व्यवसायवाट भएको आम्दानीले मेरो सामाजिक मान मर्यादाममा समेत वृद्धि भएको छ ।”
गाउँकै सामुदायिक विद्यालयबाट कक्षा ३ सम्मको मात्र अध्ययन सकाएर आफनो काँधमा आईपरेको परिवार पाल्ने जिम्मेवारीले मट्टितेल बेच्ने व्यवसाय थाले पनि त्यसले जीवकोपार्जन हुनेसक्ने स्थिति नदेखेर नर्सरी व्यवसायमा आफू लागेको रामबलेसले सुनाउनुभयो ।
हाम्रो दाइभाइ छुट्टिसकेपछि मेरो अंश भागमा जम्मा १० धुर जग्गा घडेरी परेको थियो । ०५२ साल अगाडि साइकलमा मट्टितेल राखेर दिनभरी गाउँतिर बेच्न हिड्दथें र त्यसबाट आएको पैसाले दैनिक उपभोगका सामाग्रीहरु चामल, नून, तेल आदि किनेर आफ्नो र परिवारको जीवन निर्वाह गर्दै गरेको थिएँ ।
ज्यादै दुःख गरेर जीविका चलाउनु परेकाले आफ्ना छोराहरुलाई राम्रो शिक्षा दिने चाहना मनमा हुँदाहुँदै पनि यसमा रामबलेस असमर्थ हुनु हुन्थ्यो । यहाँ दुःख भएकाले पैसा कमाउन आफू पनि विदेश जाने र छोराहरुलाई पनि विदेश नै पठाउने विचार उहाँले बनाई सक्नु भएको थियो ।
विदेश जाने योजना बुन्दै गरेका रामबलेस एकाएक गौशाला कृषि सेवा केन्द्रका जे. टि.ए. सँग सम्पर्कमा पुग्नुभयो । जेटिएले कलमी विरुवा तयार गर्ने नर्सरी चलाएर पनि पैसा कमाउन सकिने जानकारी दिएपछि रामबलेसको मनमा नर्सरी व्यवसाय गरेर कलमी बोट विरुवा उत्पादन गर्ने हुटहुटि जागेर आयो ।
२०५३ सालतिर रामबलेसले आफ्नो १० धुर घडेरीमा कलमी विरुवा उत्पादनबाट नर्सरी व्यवसायको सुरुवात गर्नुभयो । कृषि कार्यालयबाट आयोजना गरिएको पूर्वाञ्चल कृषक भ्रमण कार्यक्रममा पहिलो पटक रंगेली दुगड फार्म पुग्ने अवसर पाएपछि त्यहाँबाट केही आम्रपाली र मल्लिका जातको आँपको विरुवाहरु ल्याएर कामको सुरुवात गरेको रामबलेसले सम्झिँदै भन्नुभयो, “एक मन मकै बेचेर चार हजार आँपका कोया खरिद गरे र फलफूल नर्सरीको सुरुवात गरेको थिए ।”
त्यसपछि जिल्ला कृषि विकास कार्यालयको सहयोगमा कैयन तालिमहरु लिने अवसर पाए । तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्दै गए । अहिले २ विग्हा जग्गामा चार ठाउँमा आफनै नर्सरी संचालनमा रहेको रामबलेसले सुनाउनु भयो । नर्सरीकै आम्दानीबाट २०५८ साल तिर एक विग्हा १० कट्ठा जग्गा खरिद गरी नर्सरी क्षेत्रमै इटाको दुई तले पक्की घर र हनुमान मन्दिर समेत निर्माण गर्न भ्याएको उहाँले बताउनुभयो ।
नर्सरी व्यवसाय सुरु गर्नु अघि आफ्नै परिवारको पेट पाल्न हम्मे पर्ने दिन सम्झिदै रामबलेसले भन्नुभयो, “हाल मेरो नर्सरीमा १० जना भन्दा बढी ज्यामी कार्यरत छन् । उनीहरुको परिवारपनि पाल्न सफल भएको छुँ ,यसले असाध्यै खुशि लागेर आउँछ ।”
आर्थिक अवस्था कमजोर रहेको र जिम्मेवारीले थिचिएर राम्रो शिक्षा आर्जन गर्न नसकेका रामवलेश्वरले आफनो तीन जना छोराहरुलाई उच्च शिक्षा समेत दिलाउन सफल भएको सुनाउनु भयो ।
“छोराहरुले उच्च शिक्षा लिएका छन, तर उनीहरु पनि नर्सरी व्यवसायमै हौसिएर काम गर्ने गरेको छ । आफनै नर्सरीमा तालिम गरेर राम्रो काम गर्न थालेपछि आफनो त दिनै फेरिएको अनुभुति गर्दैछौं ।” त्यति मात्र नभई नर्सरी व्यवसायमै लागेका कारण उहाँले विभिन्न पुरस्कारहरु पनि पाउनु भएको छ ।
जिल्ला कृषि विकास कार्यालय महोत्तरी जलेश्वरद्वारा २०७१-०७२ मा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारको प्रमाण पत्र देखाउनु हुँदै रामबलेसले भन्नुभयो, “मैले आफनो जिवनमा जे मान प्रतिष्ठा पाए सवै यहि नर्सरी व्यवसायबाट पाएको छुँ । माटोमै रमाएर आम्दानी र पुरस्कार दुवै पाएको छुँ , अव जिवनको धेरै लालशा पुरा भई सकेको छ । ”
कोरोना अघिसम्म राम्रो कारोवार गर्दै आएका हनुमान फलफुल नर्सरीको व्यवसायमा केहि घटोत्तरी भएपनि काम सन्तोषजनक नै भइ रहेको उहाँले सुनाउनुभयो । वार्षिक ३० लाख रुपियाँसम्म आम्दानी गरेका हनुमान फलफुल नर्सरीले अहिल कोरोना पछि १५ देखि २० लाख रुपैया सम्म मात्र आम्दानी गर्ने गरेको उहाँले सुनाउनु भयो तर पनि सन्तुष्ट छु । अहिले आफ्नो नर्सरीमा ३६ प्रकारको विभिन्न जातको फलफुल र विरुवाहरु उत्पादन र विक्रि वितरण गर्दै आएको उहाँले बताउनु भयो । यस क्षेत्रमा दुर्लभ मानिने मरिच खेती पनि आफनो नर्सरीमा हुने गरेको जानकारी उहाँले दिनु भयो ।