• १४ वैशाख २०८२, आइतबार

बत्ती बाल्ने आशामा धिम बोल्डिङवासी

blog

बाजुरा समाचारदाता

बाजुरा, फागुन ५ गते । बाजुराको पूर्वी–उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका–६ धिमबोल्डिङवासी पछिल्लो समय बत्ती बाल्न पाउने आसमा रहेका छन् । २०७५ पछि यहाँका स्थानीयले सडक, शिक्षा, स्वास्थ्य, खानेपानीको पहुँचमा भए पनि उनीहरू उज्यालोबाट लामो समयदेखि वञ्चित हुँदै आएका थिए ।

हिमाली गाउँपालिकाले यहाँका झन्डै ४५० घरधुरीलाई उज्यालो बनाउने गरेर गाउँमा लाइन विस्तार गर्दै आएपछि उनीहरूको लामो समयपछि बत्ती बाल्ने आस पलाएको हो । अँध्यारो भोग्न बाध्य गाउँलेको अहिले लाइन विस्तार हुँदा केही समयपछि उज्यालो पाउने आस पलाएको हिमाली गाउँपालिका–६ का स्थानीय रत्नलाल रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले यहाँका गाउँमा सडक, स्वास्थ्य, शिक्षा र खानेपानीलगायतका विकासको पहुँचमा भए पनि बिजुलीबाट वञ्चित हुँदै आएका थियौँ ।” गाउँपालिकाको प्रयासले गाउँमा बिजुलीको लाइन विस्तार भएसँगै यहाँका स्थानीयले बर्सौंदेखि टुकी बाल्नुपर्ने समस्या हट्ने भएको रावतले बताउनुभयो ।

हिमाली गाउँपालिका बाजुराकै एक विकट पालिका हो । यहाँको एउटा गाउँ अर्को गाउँबाट निकै टाढा रहेका छन् । त्यस्तै गरेर गाउँबस्तीको बिचमा ठुल्ठुला ढुङ्गा र भिरपाखा छन् । गाउँका सहजै विकास गर्न स्थानीय सरकारलाई निकै कठिन छ । तर पनि हिमाली गाउँपालिकाले पछिल्लो समय यहाँका अधिकांश गाउँबस्तीलाई सडक, शिक्षा, स्वास्थ्य तथा खानेपानी पहुँचमा पु¥याएको छ । 

एक महिनाको पैदल यात्रा गरेर दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका यहाँका स्थानीय पछिल्लो समय एक घण्टाको गाडीको यात्रामा ती सामान पाउन थालेका छन् । त्यति मात्र होइन, खोप लगाउन जाँदा दुई÷चार दिन हिँडेर गाउँमा जाने स्वास्थ्यकर्मी अहिले दुई घण्टामा गाउँघर पुग्न थालेका छन् । कुवा, पँधेरा र खोलाको धमिलो पानी खान बाध्य भएका यहाँका स्थानीय पछिल्लो समय धाराको सफा पानी खान थालेका छन् । 

हिमाली गाउँपालिकाले यहाँका १ देखि ७ वडाका अधिकांश गाउँबस्ती खानेपानीको पहुँचमा रहेका छन् । लामो समयदेखि अँध्यारोमा रहेका यहाँका गाउँबस्तीमा पछिल्लो समय पालिकाले झिलिमिली गर्ने योजना अनुसार काम गर्दै आएको छ ।