बैतडी समाचारदाता
बैतडी, फागुन ५ गते । बैतडीको पाटन नगरपालिकामा हिँड्ने बाटो नहुँदा विद्यालय जाँदै गरेकी एक छात्रा भिरबाट लडेर गम्भीर घाइते भएकी छन् । पाटन नगरपालिका–२, भुलकट्टेगाउँकी १६ वर्षीय छात्रा सावित्री पाण्डेय विद्यालय जाँदै गर्दा लडेर गम्भीर घाइते हुनुभएको हो ।
पाटन नगरपालिका–२, सिलङ्गामास्थित सिद्धनाथ मावि कक्षा १० मा अध्ययनरत छात्रा बुधबार घनघस्याको उकालो सुरु हुने अघोरीगाडमाथिको खेतीभिरबाट लडेर गम्भीर घाइते भएको प्रधानाध्यापक लक्ष्मण बोहोराले जानकारी दिनुभयो । उहाँले विद्यालय आउने बाटो निकै साँघुरो र भिरालो भएका कारण छात्रा लडेर घाइते भएको बताउनुभयो ।
घाइते छात्रालाई बेहोस अवस्थामै एम्बुलेन्समार्फत उपचारका लागि डडेलधुरा पठाइएको छ । छात्राको टाउकोमा गम्भीर चोट लागेको विद्यालयले जनाएको छ । घाइते छात्रा विद्यालयकी उत्कृष्ट विद्यार्थी रहेको प्रधानाध्यापक बोहोराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भुलकट्टेगाउँबाट विद्यालय आउने बाटो ओरोलो र निकै साँघुरो छ । त्यसमाथि सल्लीपिरोलका कारण विद्यार्थी चिप्लेर लड्ने गरेका छन् । आज ठुलै दुर्घटना भयो । खेतीभिरबाट लडेकी छात्रा घनघस्याको उकालो सुरु हुने अघोरीगाडमाथिको कुलोमा रोकिएको भेट्यौँ ।”
छात्रासँगै उनकी बहिनी पनि विद्यालय आउँदै गरेकाले समयमै खबर प्राप्त भएको विद्यालयले जनाएको छ । भुलकट्टेगाउँबाट सिद्धनाथ मावि सिलङ्गामा २५ जना विद्यार्थी विद्यालय अध्ययन गर्न आउने गरेका छन् । विद्यालय आवतजावत गर्ने बाटो नहुँदा विद्यार्थी भिरबाट लडेर घाइते हुने व्रmम बढेकाले विद्यार्थी र अभिभावकलाई सचेत हुन विद्यालयले आग्रह गरेको छ ।
विद्यालय जाने बाटो निर्माणका लागि नगरपालिकाले चासो दिए पनि त्यहाँ पाटन नयाँ सहर आयोजनाले सडक विस्तार गरिरहेकाले बाटो पुग्न केही समय लाग्ने पाटन नगरपालिकाका उपप्रमुख कमलहसिंह बोहोराले बताउनुभयो ।