• ८ फागुन २०८१, बिहिबार

‘फोर नेसन्स कप’ : उत्कृष्ट खेल्ने चारै टिमको दाबी

blog

प्रि–म्याच कन्फ्रेरेन्समा आफ्नो धारणा राख्दै नेपाली टिमका कप्तान र प्रशिक्षक । तस्बिर : गोरखापत्र

काठमाडौँ, फाुन ४ गते । दशरथ रङ्गशालामा सोमबारदेखि सुरु हुने ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी चारवटै टिमले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् ।

खेलअघि आइतबार आयोजित प्रि–म्याच कन्फ्रेरेन्समा सबै टिमका प्रशिक्षक र कप्तानले यस्तो दाबी गरेका हुन् । नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले नेपालको तयारी पूरा भएको र आफुहरू खेल्नका लागि तयार रहेको बताउनुभयो ।

‘‘हामीले आफ्नो तयारी लगभग पूरा गरेका छौँ । कप्तान एन्जिला र रेखा पौडेल आईसकेका छन् । सावित्रा भण्डारी (साम्बा) पनि सोमबार बिहान आइपुग्ने हुँदा टिमको मनोबल उच्च रहेको छ । मुख्य सोमबार कीर्गिस्तानसँगको लागि सोचेका छौँ । कीर्गिस्तान पहिलाको जस्तो कमजोर छैन । हामी सबै खेल उत्कृष्ट खेल्दै उपाधि जित्न लागि पर्नेछौँ,’’ तामाङले भन्नुभयो । ‘साम्बा’लाई पहिलो खेलमा आराम दिईने पनि प्रशिक्षक तामाङले बताउनुभयो । 

यस्तै नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले यस प्रतियोगिता महिला टिमका लागि उत्कृष्ट अवसर भएको बताउनुभयो । ‘‘साफ पछि हामीले ठुलो प्रतियोगिता खेल्न पाएका छौँ । यसले खेलाडी र नेपाली समर्थकलाई खुसी बनाएको छ । टिमवर्क राम्रो रहेकोले बोलेर भन्दा खेलेर प्रमाणित गर्नुपर्ने बेला आएको छ । सहभागि सबै टिम बलिया छन् । सबै नेपाली खेलाडीको मनोबल उच्च रहेकोले राम्रो खेल्नेछौँ,’’ एन्जिलाले भन्नुभयो । 

नेपालले सोमबार कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस खेल साँझ ६:०० बजे सुरु हुनेछ । यसअघि उद्घाटन खेलमा म्यानमार र लेबनानबिच दिउँसो २:०० बजे प्रतिस्पर्धा हुनेछ ।

यसैगरी प्रि–म्याच कन्फ्रेरेन्समा कीर्गिस्तान, म्यानमार र लेबनानका प्रशिक्षक र कप्तानले पनि उत्कृष्ट खेल्ने दाबी गरेका थिए । अखिल नेपाल फु्टबल सङ्घ (एन्फा) को आयोजनामा फागुन १५ गतेसम्म सञ्चान हुने चार देश सम्मिलित यस प्रतियोगितामा नेपालको  दोस्रो खेल फागुन ८ गते लेबनान र तेस्रो खेल ११ गते म्यानमारसँग परेको छ ।

लिग चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुनेछ । एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप–२०२६ छनोट र फिफा महिला विश्वकप–२०२७ को छनोटको तयारीको रूपमा लिएको छ ।