काठमाडौँ, फागुन ४ गते। सैनिक आवासीय महाविद्यालय, सल्लाघारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा ब्राइट होराइजन चिल्ड्रेन होम मातातीर्थलाई २–१ गोल अन्तरले पराजित गर्दै सैनिक महाविद्यालय फाइनल प्रवेश गरेको हो।
सैनिक महाविद्यालयको जितका लागि रोजिन खत्री र सफल थापाले १–१ गोल गर्नुभयो भने होराइजनका वीरेन्द्र उपाध्यायले १ गोल फर्काउनुभयो।
आयोजक नेपाल एपिएफ स्कुलको मैदान कीर्तिपुरमा सम्पन्न खेलमा महाविद्यालयका एलन थापा ‘प्लेयर अफ द म्याच’ बन्नुभयो। उहाँलाई आयोजक विद्यालयका सशस्त्र प्रहरी नायब उपरीक्षक कविन्द्र महर्जनले ट्रफी प्रदान गर्नुभयो।
प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनलमा सोमबार नेपाल एपिएफ स्कुल, कीर्तिपुर ‘ए’ र नेपाल पुलिस स्कुल साँगाबिच प्रतिस्पर्धा हुनेछ। यो खेल सोमबार बिहान ९ः१५ बजे सुरु हुनेछ।
प्रतियोगिताको फाइनल फागुन ८ गते हुनेछ। प्रतियोगिताको विजयी टिमले ६० हजार रुपियाँ प्राप्त गर्नेछ। दोस्रोले २० हजार र तेस्रो टिमले १० हजार रुपियाँ प्राप्त गर्नेछ।