धनगढी समाचारदाता
धनगढी, फागुन ४ गते । सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको विषयगत समितिका सभापतिको आइतबार निर्वाचन हुँदै छ । यसअघि दुई पटक निर्वाचन मिति घोषणा गरिए पनि स्थगित भएको सभापतिको निर्वाचन आइतबार गर्न लागिएको हो । प्रदेश सभा सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै फागुन ४ गते १ बजे समितिका सभापतिको निर्वाचन हुने जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समितिबाहेक तीन समिति सभापतिविहीन छन् । यसै गरी थप गरिएको विशेषाधिकार समितिले पनि सभापति पाउन बाँकी रहेको छ । सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिका तत्कालीन सभापति सरकारमा मन्त्री नियुक्त भएपछि तीन वटै समिति सभापतिविहीन बनेका थिए । सभापति नभएका यी समितिले ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक सञ्चालन गर्ने गरेका छन् ।
यसअघि सभामुख भीमबहादुर भण्डारीले गत माघ १८ गते दोस्रो पटक सभापतिको निर्वाचन तय गर्नुभएको थियो तर विशेषाधिकार समितिको सभापतिको निर्वाचन छुटेपछि नेपाली कांग्रेसको आग्रहमा निर्वाचन स्थगित गरिएको थियो । यस पटक विशेषाधिकार समितिका सभापतिको निर्वाचन पनि समेटिएको छ ।
सचिवालयले फागुन ३ गते प्रदेश सभा सदस्यको मतदाता नामावली प्रकाशन हुने, मतदाता नामावलीउपर दाबी विरोध, अन्तिम मतदाता नामावली प्रकाशन र सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ताको तालिका सार्वजनिक गरेको छ ।
यसै गरी फागुन ४ गते प्रस्तावित सभापतिको उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने र समितिको सभापतिको निर्वाचनका लागि सम्बन्धित समितिको बैठक प्रारम्भ र निर्वाचन मत परिणाम घोषणा गर्ने तालिका रहेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।
यसै गरी विशेषाधिकार समितिको निर्वाचनको मतपरिणाम घोषणाका लागि समितिको बैठक फागुन ४ गते दिनको २ः३० बजेबाट सञ्चालन हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
गत पुस ११ गते सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सामाजिक विकास समिति एमाले, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति नागरिक उन्मुक्ति पार्टीले पाउने सहमति भएको थियो । यसै गरी सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लाई दिने सहमति गरिएको थियो ।