• १६ फागुन २०८१, शुक्रबार

पन्ध्र नवप्रतिभा छनोट

blog

मकवानपुर समाचारदाता

मकवानपुर, फागुन ४ गते । हेटौँडा आइडलका लागि १५ जना प्रतियोगी छनोट गरिएको छ । शनिबार हेटौँडामा भएको अडिसनमा सहभागी ३५ जनाले गायन प्रस्तुति गरेकोमा १५ जना प्रतियोगी छनोट भएका छन् । नवप्रतिभाको खोजीका क्रममा हेटौँडा आइडलको दोस्रो संस्करण आयोजना गरिएको आयोजकले जनाएको छ । हेटौँडामा यही फागुन ६ गतेदेखि १८ गतेसम्म हेटौँडा १० स्थित टिसिएन चौरमा सङ्घको आयोजनामा हुन गइरहेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को अवसरमा हेटौँडा आइडलको दोस्रो संस्करण आयोजना गरिएको हो । 

हेटौँडा आइडल उपसमितिका संयोजक टाकाराज थापाले पहिलो चरणमा छनोटमा परेका १५ जनाले फागुन ७ गतेबाट स्टेज प्रस्तुति गर्ने गरी कार्यक्रम तय गरिएको भन्दै हेटौँडा आइडलको ग्रान्ड फिनाली फागुन १७ गते हुने बताउनुभयो । १५ जनाबाट पाँच जना प्रतियोगी छनोट गरी अन्तिम प्रतिस्पर्धा गराइने भएको छ । १० जना प्रतियोगीबाट भोटिङ सुरु गर्ने गरी व्यवस्था गरिएको छ । आयोजक संस्था निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बाल गोपाल कँडेलले हेटौँडा आइडल ५१, फस्ट रनरअप २५ र सेकेन्ड रनरअप १५ तथा दुई जना रनर अपलाई जनही पाँच हजार रुपियाँसहित पुरस्कृत गरिने बताउनुभयो । हेटौँडा आइडलको निर्णायकमा गायकहरू कृष्णगोपाल महर्जन, सुनिता बुर्लाकोटी र ईश्वर खड्का रहनुभएको छ ।