• १२ फागुन २०८१, सोमबार

बेलायत लैजान्छु भनी छ लाख ठग्ने दुई पक्राउ

blog

डिपेन्डेन्ट भिसामा बेलायत पठाउने आश्वासन दिएर ठगी गर्ने दुई जनालाई सार्वजनिक गर्दै कास्की प्रहरी । तस्बिर :फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, फागुन २ गते ।
डिपेन्डेन्ट भिसामा बेलायत पठाउने आश्वासन दिएर ठगी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर ठगी गरेको भन्दै कास्की प्रहरीमा उजुरी परेको थियो ।

काभ्रेपलाञ्चोकका दुई युवाले नेहा गुरुङ नामक फेक फेसबुक अकाउन्टमार्फत सम्पर्क गरी प्रलोभन देखाउँदै पीडितसँग छ लाख एक हजार नौ सय ५५ रुपियाँ ठगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिनुभयो । उनीहरुलाई काठमाडौंको सोह्रखुट्टेबाट बुधबार नियन्त्रणमा लिइएको थियो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका वडा नम्बर ७ का १९ वर्षीय मनिष भुजेल र भुम्लु गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय निशान पहारी हुनुहुन्छ । कास्की प्रहरीले उहाँहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट शुक्रबार सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।