माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), फागुन १ गते । पाँच पटकको च्याम्पियन थ्री स्टार क्लब २४औँ आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको छ ।
पोखरा रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टार पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग ४–० गोलले पराजित भयो ।
जितसँगै ब्ल्याक बुल्स फाइनलमा प्रवेश गरेको छ । फाइनलमा ब्ल्याक बुल्सले शनिबार विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
थ्री स्टारलाई लज्जासपद हार चखाउन ब्ल्याक बुल्सका कुभोनचेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ, सभ्काटजोन सात्तोरोभ र सइदजमोल दाभ्लातिनोभले एक एक गोल गर्नुभयो ।
कुभोनचेकले २५औँ मिनेटमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । दोस्रो हाफमा तीन गोल थपेको ब्ल्याक बुल्सका लागि दोस्रो गोल असिलबेकले ५८औँ मिनेटमा गर्नुभयो ।
त्यसपछि ६२औँ मिनेटमा सभ्काटजोन र ८७औँ मिनेटमा सइदजमोलले गोल गर्दै पाहुना टोलीलाई सजिलै फाइनलमा लग्नुभयो । खेलभर ब्ल्याक बुल्सको दबाब झेलेको थ्री स्टारले केही अवसर पाए पनि सदुपयोग गर्न सकेन ।
खेलपछि थ्री स्टारका प्रशिक्षक गणेश खड्काले खेल नराम्रो भएपनि टिमले बनाएको रणनीति सफल नभएको बताउनुभयो । उहाँले विदेशी टिम प्राविधिक रूपमा निकै राम्रो रहेको स्वीकार पनि गर्नुभयो ।
प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टोलीले १२ लाख एक हजार र उपविजेताल ६ लाख एक रुपियाँ पुरस्कार पाउनेछ ।