• १ फागुन २०८१, बिहिबार

पोखरामा ट्याक्सी चढ्नेले 'लगबुक' भर्नुपर्ने

blog

ट्याक्सी चालकलाई लगबुक दिई अभियान सुरुआत गर्नुहुँदै कास्कीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलिया । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन १ गते । पोखरामा ट्याक्सी चढ्दा हरेक यात्रुले लग बुक भर्नुपर्ने भएको छ । यात्रु र सवारी चालकको व्यक्तिगत सुरक्षा तथा पराधिक क्रियाकलाप रोकथाम नियन्त्रणका लागि बिहीबारदेखि कार्यक्रम सुरुवात गरिएको हो । 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षित तथा अभिलेख युक्त यात्रा विवरण (ट्याक्सी यात्रु लग बुक) कार्यक्रम थालिएको हो । वडा प्रहरी कार्यालय बैदामको पहलमा प्रत्येक ट्याक्सीमा लक बुक राख्न थालिएको हो । पोखरेली ट्याक्सी सेवा प्रालि नयाँबजार र ए वान ग्रेटर यातायात प्रालि पोखराको सहकार्यमा कार्यक्रम अगाडि बढाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले कार्यक्रम सुरुआत गर्नुभयो । नेपाल प्रहरी र यातायात व्यवसायी दुबैको सरोकार शान्ति, सुरक्षा कायम गर्नु रहेको उहाँले औंल्याउनुभयो । “हरेक चालकले ट्राफिक नियमको पालना गर्नुका अलावा सेवा प्रवाह गर्न यात्रुको पहिचान तथा विवरण संकलन गर्नु महत्वपूर्ण हुन्छ । यो त्यसैको थालनी हो,” ओलियाले भन्नुभयो ।

पोखरा आउने पाहुनालाई पहिलो स्वागत गर्ने ट्याक्सी व्यवसायी नै भएकाले नम्र बोली, मीठो व्यवहार जरुरी हुने उहाँको भनाइ छ। “यात्रुको अभिलेख युक्त यात्राको कारण पर्यटकलाई सकारात्मक प्रभाव पर्छ । लक बुकले ट्याक्सी सेवाको छवि उच्च बनाउनुका साथै मर्यादित र व्यवस्थित बनाउन सहयोग पुग्छ,” उहाँले भन्नुभयो । 

लक बुकलाई व्यवस्थित गरेपछि यात्रुको सामान छुटेमा, यात्रु तथा चालकले एक अर्कालाई दुर्व्यवहार गरेको खण्डमा नियन्त्रण गर्न सहज हुने अपेक्षा गरिएको छ । यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहजीकरण गर्ने विश्वास गरिएको छ ।