• १५ वैशाख २०८२, सोमबार

पुलको भारवहन क्षमता कमी हुँदा आलोपालो

blog

बाजुरा समाचारदाता

बाजुरा, फागुन १ गते । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाडखोलामा निर्माण गरिएको पक्की पुलमा गाडीलाई एक वर्षमै आलोपालो गर्नु परेको छ । 

भारवहन परीक्षण गर्दा सो पुलले ३० टनका दुई वटा गाडीसमेत धान्न नसकेपछि अहिले गाडी आलोपालो गर्नु परेको हो । २०७५ सालमा करिब छ करोड रुपियाँमा निर्माण भएको सो पुलले धान्नुपर्ने ४५ टन लोड हो । निर्माण कम्पनीले २०७५ सालमा निर्माणको काम सम्पन्न गरेर यस पुलमा सवारीसाधन सञ्चालन हुँदै आएका छन् तर सडक विभागले भने यस पुलमा गाडी सञ्चालनका लागि अनुमति दिएको छैन ।

२०७८ सालमा सडक डिभिजन कार्यालय साँफेबगर अछामले यस पुलको भारवहन परीक्षण गर्दा एउटा गाडीलाई आउजाउ गर्न सहज भएकाले २०८० सालमा सो पुलमा एक पटक एउटा मात्र गाडी हिँड्ने गरेर साइन बोर्ड टाँस गरेको थियो ।  पुलमा १५/१५ टनका तीन वटा गाडी हाल्दा लच्चिकिएपछि सडक डिभिजन कार्यालय अछाम र पुल महाशाखाबाट आएको इन्जिनियरको टोलीले त्यो पुलछेउमा एक पटक एउटा मात्र गाडी लेखेको साइन बोर्ड टाँस गरेर गएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

करोडौँका भौतिक पूर्वाधार निर्माणका योजना ठेकेदारको लापर्बाहीका कारण यसरी नै अस्तव्यस्त हुने गरेका छन् । म्याद थपिन्छ, काम लम्बिन्छ, सरोकारवाला निकायलाई भने केही चासो नभएको स्थानीयले गुनासो गर्छन् । सो पुल निर्माण पूरा भएपछि २०७५ सालमै बाजुराका प्रमुख जिल्ला अधिकारी, यहाँका स्थानीय र सडक डिभिजन कार्यालय अछामको सहभागितामा पुलको उद्घाटन गरेको गुइगाड पुल निर्माणका इन्चार्ज कृष्ण ऐरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गुइगाड खतरनाक खोला हो । बर्खाको समय यो खोलामा आएको बाढीले पुलको पिल्लरमा निर्माण गर्ने क्रममा क्षति गरिदियो । क्षति भएका ठाउँमा हामीले ग्याबिन राखेपछि अहिले पुलमा खासै केही असर भएको छैन ।” पुल निर्माण पूरा भएपछि सडक डिभिजन कार्यालय अछामलाई समेत जानकारी गराइएको हो । सो कार्यालयले त्यतिबेला नै पुलको लोड टेस्ट गर्नुपर्ने हो । अहिले आएर भारवहन परीक्षण गरेपछि पुनः अर्को पुल बनाउन गाह्रो भएको इन्चार्ज ऐरले बताउनुभयो ।

४५ टन क्षमता धान्नुपर्ने सो पुलले ३० टन क्षमता (भार) समेत धान्न नसकेपछि अहिले सो पुलमा एक पटक एउटा मात्र गाडी चल्ने गरी बोर्ड टाँस गरेको सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल निर्माणको काम कमसल देखिएपछि निर्माण कम्पनी रोजेन्द्र थेगिम जेभी कैलालीलाई पत्र पठाएका छौँ ।” फोन गर्दा सम्पर्क नआएपछि निर्माण कम्पनीलाई पत्राचार गरेको सुपरभाइजर गिरीले बताउनुभयो ।