• १ फागुन २०८१, बिहिबार

अफ्रिकन स्वाइन फिभरबाट १६ बङ्गुर मरे

blog

अफ्रिकन स्वाइन फिभर रोगबाट मरेको बङ्गुर । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, माघ ३० गते । तनहुँमा ‘अफ्रिकन स्वाइन फिभर’ रोगबाट बङ्गुर मर्न थालेका छन् । जिल्लामा १६ वटा बङ्गुर मरिसकेको र २१ बिरामी परेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा. राजेश चौधरीले बताउनुभयो । 

हालै सो सङ्ख्याको बङ्गुर मरेको र भिमाद नगरपालिका त्यस रोगबाट सबैभन्दा बढी प्रभावित भएको उहाँले जानकारी दिनुभयो । भिमादमा १४ बङ्गुर, शुक्लागण्डकी नगरपालिकामा दुई गरी १६ बङ्गुर मरिसकेका छन् । जिल्लाका दस पालिकामध्ये तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण फैलिएको छ । 

डा. चौधरीका अनुसार तनहुँका भिमाद, शुक्लागण्डकी र व्यास नगरपालिका गरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’ रोगबाट प्रभावित भइसकेको छ । सो सङ्क्रमणले गर्दा बङगुर मर्न थालेपछि यहाँका व्यावसायिक किसान चिन्तित भएका छन् । 

भिमाद नगरपालिका –६ का भूमिमाया आलेले चार वटा बङ्गुर एकैचोटी मरेको बताउनुभयो । आलेले भन्नुभयो, “दुःख गरी पालेको बङ्गुर मरे अब परिवार कसरी पाल्ने भन्ने चिन्ता परेको छ ।’ महामारीको रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई केन्द्रले आग्रह गरेको छ ।

बाह्य मानिसलाई फार्ममा जान नदिन र बङ्गुर तथा सुँगुर ओसार–पसारमा प्रतिबन्ध लगाइएको केन्द्रले जनाएको छ । केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान थालेको छ । पीडित किसानका फार्ममा पुगेर सतर्कता अपनाउन आग्रह गरिएको कार्यालय प्रमुख डा. चौधरीले बताउनुभयो । 

उक्त रोगविरुद्ध हालसम्म कुनै भ्याक्सिन नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन भनिएको छ । सो रोगले बङ्गुरमा उच्च ज्वरो आउने, खान मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखा पर्नेजस्ता लक्षण देखा पर्छ । प्रयोगशालामा नमूना परीक्षण गर्नेक्रममा बङगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको चौधरीले बताउनुभयो ।