रेखीराम राना
तानसेन, माघ ३० गते । पाल्पाको दुई स्थानमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रामपुर–१, बर्दाकोटका १५ वर्षीय किशोर नारायण सारुको मृत्यु भएको छ ।
तीन दिनअघि निस्दीदेखि रामपुरतर्फ ढुङ्गा लिएर आउँदै गरेको लु. ४ त. ५२७१ नम्बरको ट्याक्टरबाट खसेर घाइते हुनुभएका सारुको उपचारको क्रममा काठमाडौँस्थित इनोभा अस्पतालमा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, बुधबार तानसेन–तम्घास सडक खण्डको जोगीपानीमा लु. १७ प. ८८६४ नम्बरको मोटरसाइकल र ०१००१ ज. ००१७ नम्बरको इभी जिप आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकलमा सवार गुल्मी छत्रकोट गाउँपालिका –१ का ३८ वर्षीय प्रकाश पाण्डे र ३१ वर्षीया कमला पाण्डे रहनुभएको छ । घाइतेलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा पठाइएको भए पनि थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा रिफर गरिएको अस्पतालले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।