• १ फागुन २०८१, बिहिबार

पुलिस आहा–रारा गोल्डकपको फाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै पुलिस र चर्च ब्वाइजका खेलाडी । तस्बिर : गोरखापत्र

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), माघ ३० गते । विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी २४औँ संस्करणको आहा–रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

पोखरा रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा पुलिसले ‘ए’ डिभिजन लिग च्याम्पियन टोली चर्च ब्वाइज क्लबलाई १–० गोलले हरायो । 

पुलिसको कठिन जितमा सञ्जिव लामाले निर्णायक गोल गर्नुभयो । लामाले ५८औँ मिनेटमा करिब ५ यार्ड लामो भली प्रहारमा गोल गर्नुभएको हो । पुलिस सर्वाधिक ११औँ पटक आहा–राराको फाइनलमा पुगेको हो । निर्णायक गोल गर्नुभएका लामा खेलमा म्यान अफ दि म्याच घोषित हुनुभयो ।

खेलमा दुबै टोलीले केही राम्रा अवसरलाई गोलमा परिणत गर्न भने चुकेका थिए । आहा–राराको बुधबारको खेल २५०औँ खेल हो । यो खेल मोफसलमा आयोजना हुने प्रतियोगिताको २५०औँ खेल पुगेको पहिलो हो । पुलिसले २०७६ सालपछि आहा–राराको फाइनलमा स्थान बनाएको हो । 

यसअघि ६ पटकको च्याम्पियन पुलिसले उपाधिका लागि थ्रीस्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्सबिचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल बिहीबार हुनेछ । खेलपछि चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित भएको बताउनुभयो ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले फाइनलमा राम्रो खेल्ने उपाधि जित्ने दाबी गर्नुभयो । स्वदेशी र विदेशी गरी १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले १२ लाख एक हजार र उपविजेताल ६ लाख एक रुपियाँ पुरस्कार पाउनेछ ।