सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, माघ ३० गते । सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले राष्ट्र र जनताका पक्षमा काम गर्दै गएको बताउनुभएको छ । सिन्धुलीमाढीमा मङ्गलबार भएको सिन्धुली उद्योग वाणिज्य सङ्घको ३४ औँ वार्षिक साधारण सभा तथा १५ औँ अधिवेशन समुद्घाटन समारोहमा उहाँले सो कुरा व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “यो सरकार नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सातबुँदे सहमति अनुसार अगाडि बढिरहेकाले निष्कर्षमा पुग्छ । त्यसमा कसैले पनि दुविधा नलिए हुन्छ ।”
यो सरकार ढाल्न कोही लागिरहनुभएको छ भने त्यो समय र परिश्रम खेर नफाल्न उहाँले अनुरोध गर्नुभएको छ । “किनभने त्यो समय र परिश्रम दुवै खेर जानेवाला छ बरु त्यो समय र परिश्रम रचनात्मक काममा लगाइदिनुहुन म सबैलाई अनुरोध गर्न चाहन्छु,” गृहमन्त्री लेखकले भन्नुभयो, “देश निर्माण गर्नका लागि र राष्ट्रलाई समृद्ध बनाउनका लागि सबैलाई रचनात्मक कार्य गरेर अगाडि बढौँ भन्ने आग्रह छ ।” अहिले कांग्रेस र एमालेबिचमा बनेको नयाँ समीकरण केही मानिस मन्त्री बन्नका लागि मात्रै सरकार नबनेको उहाँले स्पष्ट पार्नुभयो । मुलुकलाई सुशासन दिन, मुलुकमा खस्केको अर्थतन्त्रलाई मजबुत बनाउन, निजी क्षेत्रका लागि अनुकूल वातावरण बनाउनका निमित्त, देशमा भ्रष्टाचार नियन्त्रण गरेर सुशासन स्थापनाका लागि अहिलेको समीकरण बनेको उहाँको भनाइ थियो ।
गृहमन्त्री लेखकले जबर्जस्ती बन्द गर्ने, हडताल, चन्दा आतङ्क तथा अन्य अवरोध सिर्जना गर्नेलाई नियन्त्रण गर्न सरकार हमेसा प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक रणनीति बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योगी व्यवसायी साथीहरू, तपाइँमाथि कुनै पनि खालका अवाञ्छित दबाब सिर्जना भयो भने त्यो कुरा स्थानीय प्रशासन, गृह मन्त्रालयलाई जानकारी गराउनूस् । हामी कुनै पनि खालको गलत दबाब व्यवसायी तथा उद्योगीमाथि आउन दिने छैनौँ ।”
‘कुनै पनि व्यवसायीले भय, त्रास र असुरक्षाको अनुभूति गर्नुपर्ने छैन । त्यसकारण तपाइँहरू निर्बाध रूपमा आफ्नो व्यवसाय र उद्योग सञ्चालन गर्नुहोस्,” उहाँले थप्नुभयो । निजी क्षेत्रको सहभागिताबिना आर्थिक विकास सम्भव नभएको गृहमन्त्री लेखकले स्पष्ट पार्नुभयो । उद्योगी व्यवसायीसँग सहकार्य गर्दै व्यापार प्रवर्धनका लागि सहज वातावरण सिर्जना गर्न गृह मन्त्रालय हमेसा व्रिmयाशील रहेको उहाँले धारणा व्यक्त गर्नुभयो । “स्थानीय उत्पादन तथा व्यापारलाई प्रवर्धन गर्न सरकार आवश्यक नीति तथा पूर्वाधार विकासमा सहयोग गर्न प्रतिबद्ध छ,” उहाँले भन्नुभयो, “नेपालको वर्तमान आयात, निर्यात संरचनालाई हेर्दा हाम्रो व्यापार घाटा धेरै उच्च रहेको छ । हामीले स्वदेशी उत्पादनलाई प्रवर्धन गर्दै आयात प्रतिस्थापन गर्ने नीति अवलम्बन गर्नु आवश्यक छ । देशभित्र स्थापित उद्योगलाई महìव दिँदै संरक्षण र प्रवर्धन गर्दै निर्यात गरेर व्यापार घाटालाई घटाउनु छ ।”
उहाँले पछिल्लो समयमा सरकारले केही अध्यादेश जारी गरेको र अध्यादेशको प्रव्रिmयाका बारेमा केही विमति र आलोचना भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अध्यादेशका अन्तर्निहित वस्तु तथा अध्यादेशका व्यवस्थाका बारेमा हाम्राबिचमा कुनै विमति हुनुपर्ने कारण छैनन् । दुई वटा उद्देश्यले नेपाल सरकारले अध्यादेश अथवा कानुन जारी गरेको छ । पहिलो व्यापारिक वातावरण सुनिश्चित गर्न र दोस्रो सुशासन सुनिश्चित गर्न अध्यादेश आएका छन् ।”
सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको उक्त समारोहमा बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकुमाया तामाङ, सङ्घीय सांसदद्वय श्यामकुमार घिमिरे, लेखनाथ दाहाल, कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोख्रेललगायतले आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा सिन्धुली उद्योग वाणिज्य सङ्घले खरिद गरेको दमकलको साँचो गृहमन्त्री लेखकले कमलामाई नगरपालिका प्रमुख उपेन्द्रकुमार पोख्रेललाई हस्तान्तरण गर्नुभएको थियो ।