• १२ फागुन २०८१, सोमबार

सिलाम साक्माको प्रवर्धन र प्रचारका प्रतिमा निर्माण

blog

मैवाखोला गाउँपालिकाको साँघुमा बाँसको प्रयोगबाट निर्माण गरिएको विशाल सिलाम साक्मा। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २९ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकामा लिम्बू जातिको सांस्कृतिक पहिचानको रूपमा रहेको सिलाम साक्माको प्रवर्धन तथा प्रचार गरिएको छ। गाउँपालिकाले मौलिक संस्कृतिको जगेर्ना साथै प्रवर्धन गर्ने उद्देश्यसहित सिलाम साक्माको प्रतिमा निर्माण गरी प्रवर्धनात्मक प्रचार गरेको हो।

लिम्बू भाषामा सि को अर्थ मृत्यु, लामको अर्थ बाटो र साक्माको अर्थ छेक्नु हो, अर्थात सिलाम साक्माको अर्थ मृत्युको बाटो छेक्नु हुन्छ । लिम्बू जातिको सांस्कृतिक पहिचान झल्काउने सिलाम साक्माको पछिल्लो समय प्रयोग गर्ने क्रम पनि बढ्दै गएको छ। लिम्बूबाहेकका समुदायसम्म सिलाम साक्माको प्रयोग बढ्दै गइरहेको बेला मैवाखोला गाउँपालिकाले यसको प्रवर्धनमै जोड दिएको छ।

मैवाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र साँघुमा गएको आइतबार सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विशाल आकारको सिलाम साक्माको प्रतिमा निर्माण गरिएको छ। वर्गाकार अर्थात् उचाई ५४ फिट र चौडाई ५४ फिट भएको विशाल आकारसहित विभिन्न आकारका सिलाम साक्मा निर्माण प्रदर्शन र प्रचार गरिएको छ। 

प्रतियोगिताको उद्घाटनमा हजारौं मानिसको सहभागिता रहेको र उक्त सहभागीबिच प्रदर्शन गरिएको सिलाम साक्माले सांस्कृतिक पहिचानको प्रवर्धनमा टेवा पुर्‍याएको विश्वास गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले लिनुभएको छ। सिलाम साक्माको प्रवर्धन र प्रचार गर्ने उद्देश्यले नै प्रतिमा निर्माण गरी प्रदर्शन गरिएको गाउँपालिका अध्यक्ष वनेमले बताउनुभयो। उहाँका अनुसार बाँसको भाटा प्रयोग गरेर ठुलो आकार करिब एक हजार ५०० किलोग्राम तौल भएको सिलाम साक्मा बनाई प्रवेशद्वार (गेट) निर्माण गरिएको छ।

उद्घाटनका अतिथिलाई लोगो (व्याच) का रूपमा सिलाम साक्मा नै लगाई दिइएको थियो भने कार्यक्रममा प्रस्तुत भएको विद्यार्थीको नृत्य, मार्चपास लगायतका गतिविधिमा सिलाम साक्माको व्यापक प्रदर्शन गरिएको थियो। सिलाम साक्माको प्रयोगले मौलिक पहिचानको प्रवर्धनसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षासमेत राखिएको गाउँपालिका उपाध्यक्ष कमलकुमारी वनेम लिम्बूले बताउनुभयो। 

उहाँका अनुसार सिलाम साक्माको प्रदर्शनले प्रतियोगितामा सहभागीलाई आकर्षित गराएको थियो। सिलाम साक्मा विशेष गरी लिम्बू समुदायले आफ्नो पहिचान झल्काउन लोगो (प्रतीक) का रूपमा प्रयोग गर्ने गर्दछन्। लिम्बू जातिको मौलिक तथा सांस्कृतिक कर्मकाण्डमा पुजारीका रूपमा रहेका फेदाङ्मा, येबा, साम्बा, बिजुवाहरूले बाँसको सिन्का र उनीको धागोबाट सिलाम साक्मा निर्माण गरी प्रयोग गर्ने गर्दछन्। लिम्बू थाक्थुङ मुन्धुमअनुसार सिलाम साक्माले दिवङ्गतहरूको आत्माको विचार र बाटो छेक्ने गर्दछ।

यस्तै जीवित रहनेको दिनचर्या सुखमयसाथ बित्ने, स्वस्थ, स्फूर्ति र उच्च मनोबलसहित सकारात्मक ऊर्जा बढाउनमा सिलाम साक्माले शक्ति प्रदान गर्ने भन्ने जनविश्वास पनि रही आएको छ । सोही जनविश्वासका कारण पछिल्लो समय लिम्बू तथा अन्य जाति समेतले बाँसको सिन्का र धागो साथै विभिन्न धातुबाट सिलाम साक्मा निर्माण गरेर प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । सिलाम साक्माको लोगो कोट, साडीलगायत पुरुष तथा महिलाले लगाउने पहिरनमा छातीको बाहिरपट्टि टाँसेर लगाउने गरिन्छ।