• ८ वैशाख २०८२, सोमबार

जाखोर तालमा जलपन्छी (फोटो फिचर)

blog

अविनाश चौधरी

धनगढी, माघ २७ गते । कैलालीको महत्त्वपूर्ण सिमसार जाखोर तालमा विभिन्न प्रजातिका जलपन्छीको उपस्थिति बढेको छ । 

तालमा रहेको मिचाहा प्रजाति हटाउनुका साथै ताल व्यवस्थापन गरिएपछि जलपन्छीको उपस्थिति बढेको हो । धनगढी उपमहानगरपालिका–७ स्थित देवहरिया उद्यानमा यो ताल रहेको छ । १२.५ हेक्टर क्षेत्रफलमा फैलिएको जाखोर ताल धनगढी क्षेत्रमा घुमफिरका लागि निकै प्रख्यात छ । पछिल्लो समय चराको उपस्थितिसँगै यो ताल चरा अवलोकनका लागि पनि महत्त्वपूर्ण गन्तव्य बनेको छ । 

ताल क्षेत्रमा सिलसिलेहास, हरिहाँस, नकटा, बगाले सिम कुखुरा, लामऔंले, कुर्मा, जलेवा, बकुल्ला लगायतका जलपन्छी रहेका छन् । धनगढीमा जाखोर ताल चरा अवलोकनका लागि महत्त्वपूर्ण गन्तव्य रहेको उल्लेख गर्दै चराविद् हिरुलाल डंगौराले रैथाने र आगन्तुक गरी यस वर्ष जाखोर तालमा १७ प्रजातिका जलपन्छी पाइएको बताउनुभयो ।  उहाँले जाखोर तालमा सङ्कटापन्न नकटा चरासहित सिलसिलेहाँसको निकै राम्रो उपस्थिति रहेको उल्लेख गर्नुभयो ।