काठमाडौँ, माघ २० गते । यु–१९ महिला टी–२० विश्वकपको उपाधि भारतले जितेको छ । मलेसियामा आइतबार भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई नौ विकेटले हराउँदै उपाधि जितेको हो ।
भारतले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि भारत सन् २०२३ मा पनि च्याम्पियन बनेको थियो । जितका लागि ८३ रनको समान्य लक्ष्य पछ्याएको भारतले ११.२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
भारतका लागि गोंगाडी तृषाले सर्वाधिक ४४ रन बनाउनुभयो । सानिका चल्केले २६ रन बनाउनुभयो । बलिङमा दक्षिण अफ्रिकाकी कायला रिनेकेले एक विकेट लिनुभयो ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ८२ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि मिक वान बुसर्टले सर्वाधिक २३ रन बनाउनुभयो ।
नेपाल भने विश्वकपको समूह चरणबाट बाहिरिएको थियो । विश्वकपमा समूह ‘डी’ बाट प्रतिस्पर्धा गरेको नेपालले समूह चरणका तीन खेलमा पराजित भएको थियो । नेपालले प्लेअफ खेलमा भने आयोजक मलेसियालाई सात विकेटले हराएको थियो । एजेन्सी