कबिराज घिमिरे
हिले, माघ २० गते । धनकुटामा करिब ६ हजार किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले आयोजना गरेको जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मीहरू र सरोकारवालाहरूका लागि अभिमुखीकरण गोष्ठीमा यस्तो जानकारी दिइएको हो ।
स्वास्थ्य कार्यालय धनकुटाकी स्वास्थ्य अधिकृत प्रतिमा खोयाहाङ्गले दिएको जानकारी अनुसार धनकुटामा आगामी माघ २२ गते देखि २७ गतेसम्म जिल्लाको सातै पालिकामा रहेको विद्यालयहरूमा सञ्चालन हुनेछ । कक्षा–६ देखि १० कक्षासम्म अध्ययनरत १० देखि १४ वर्ष उमेरका छात्राहरूलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी खोप लगाइनेछ । पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको तीन प्रकारको खोप मध्ये पहिलो पटक नेपालमा दिन लागिएको खोप भने सिकोलिन रहेको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
सो अवसरमा रोगको परिचय र अवस्था, रोग सर्ने माध्यम, लक्षण तथा चिन्हहरू, भाइरसका प्रजातिहरूको बारेमा सहभागीहरूलाई जानकारी दिइएको थियो । स्वास्थ्य अधिकृत खोयाहाङ्गका अनुसार पाठेघरको मुखमा २० वर्षसम्म सङ्क्रमण भई रह्यो भने पाठेघरको मुखमा क्यान्सर हुन सक्ने बताइन् । संसारमा ५ लाख, ७० हजार महिलाहरूको पाठेघरको मुखमा क्यान्सरको सङ्क्रमण भएको पुष्टि भएको बताइएको छ ।
हरेक वर्ष विश्वमा ३ लाख, ११ हजार महिलाको पाठेघरको मुखमा क्यान्सर भएको कारण मृत्यु हुने गरेको छ । त्यसैगरी नेपालमा हरेक वर्ष २ हजार, १ सय, ६९ जना महिलामा पाठेघरको क्यान्सर हुने गरेको छ भने हरेक दिन ४ जनाको मृत्यु हुने गरेको तथ्याङ्गक छ ।
नेपालमा पहिलो पटक आ.व.०७६-०७७ देखि, दोश्रो पटक आ.व. ०७९-०८० मा र तेश्रो पटक आ.व. ०८१-०८२ मा पनि महिलाको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गरिएको बताइएको छ ।