• २० माघ २०८१, आइतबार

भेरी अस्पतालमा बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने

blog

उपकरण मर्मत सम्भारका लागि भएको सम्झौता आदानप्रदान गर्दै । तस्विर : सिराज खान

सिराज खान
नेपालगन्ज, माघ २० गते ।
पश्चिम नेपालकै प्रमुख सरकारी अस्पताल भेरी अस्पतालमा बिग्रिएर थन्किएका उपकरणहरु राष्ट्रिय आविष्कार केन्द्रले मर्मत सम्भार गर्ने भएको छ । 

अस्पतालमा रहेका बिग्रिएका महत्त्वपूर्ण स्वास्थ्य उपकरणहरु मर्मत सम्भार गर्नका लागि भेरी अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबिच सम्झौता भएपछि केन्द्रले ती उपरण मर्मत सम्भार गर्ने भएको हो ।

स्वास्थ्य उपकरणहरु मर्मत सम्भारका लागि तयार गरिएको सम्झौता पत्रमा भेरी अस्पतालका तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी र आविष्कार केन्द्रका तर्फबाट अविष्कार अधिकारी अभिनव आनन्द दत्तले हस्ताक्षर गरेर सम्झौता आदानप्रदान गर्नुभएको छ ।

बिग्रिएका उपकरण कसैले मर्मत गर्न तयार नहुने भएकाले आफूहरुले सेवा भावको हिसाबले सो काम गर्ने जिम्मा लिएको आविष्कार केन्द्रका अविष्कार अधिकारी दत्तले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘भेरी अस्पतालमा जे–जे उपकरण बिग्रिएका छन् ती सबै मर्मत गर्नेछौं, वारेन्टी सकिएका उपकरणलाई बनाउँछौं । मर्मत गर्न नसक्ने उपकरणलाई बनाउन सक्दैनौं भनेर सिफारिस गर्छौं ।’’

सुरुमा आविष्कार केन्द्रका स्वास्थ्य विज्ञ प्राविधिकले अस्पतालमा रहेका बिग्रिएका उपकरणको अवस्था अध्ययन गरेर मर्मत गर्न सकिने वा नसकिने छुट्याउने र त्यसपछि अस्पतालले उपलब्ध गराएका मर्मत सामग्रीको प्रयोग गरी मर्मत गर्ने भेरी अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका प्रमुख मेसु डा. सुवेदीका अनुसार अस्पतालका प्राविधिक र आविष्कार केन्द्रका जनशक्तिले बिग्रिएका उपकरण सङ्कलन र मर्मतको लागत अनुमान गर्ने काम सुरु गरेको बताउनुभयो ।

सरकारले ठुलो धनराशी खर्च गरेर खरिद गरेका र दाताले दिएका धेरै स्वास्थ्य उपकरणहरु अस्पतालको स्टोरमा थन्किएका छन् । ती सबैको मर्मत सम्भार हुन सकेमा यस क्षेत्रका हजारौं बिरामीले सहज सेवा पाउने आशा गरिएको छ ।

सो अवसरमा केन्द्रका आविष्कार अधिकारी देवेन्द्रकुमार साहको पनि उपस्थिति थियो । 

देशभरका १७ वटा ठुला सङ्घीय अस्पतालमा बिग्रिएर वा प्रयोगविहीन अवस्थामा रहेका स्वास्थ्य उपकरणको अवस्था पत्ता लगाएर मर्मत गर्नेगरी यसअघि भदौ ५ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबिच सम्झौता भएको थियो । सोही सम्झौता अनुसार हाल आएर भेरी अस्पतालसँग पनि सम्झौता भएको हो ।