• १९ माघ २०८१, शनिबार

त्रिकोणात्मक टी–२० सिरिज : नेपालको दोस्रो हार

blog

नेपाली टिम । फाइल तस्बिर

काठमाडौँ, माघ १९ गते । नेपालले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा पनि हार खेलेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपाल थाइल्यान्डसँग चार विकेटले पराजित भयो । नेपाल सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । 

जितका लागि एक सय एक सय दुई रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १९ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । 

थाइल्यान्डका लागि नानापाट कोन्छारोयनकाईले अविजित अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ५८ बलमा ६ चौकाको सहयोगमा ६० रन बनाउनुभयो ।

नारुमोल चिवाईले १३ र सुवानान काईएटोले अविजित १४ रन बनाउनुभयो । बलिङमा नेपालकी मनिषा उपाध्यायले दुई तथा कविता जोशी, रुविना क्षेत्री र कविता कुँवरले एक एक विकेट लिनुभयो । 

यअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय एक रनको योगफल खडा गरेको थियो । 

नेपालका लागि कविता कुँवर र विन्दु रावलले समान २५ रन बनाउनुभयो । कप्तान इन्दु वर्माले १५ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

बलिङमा थाइल्यान्डकी थिपात्चा पुथावङले सर्वाधिक तीन विकेट लिनुभयो । फानिता माया र नटया बूचाथामले दुई दुई तथा चनाइदा सुथिरुवाङले एक विकेट लिनुभयो ।