• १८ माघ २०८१, शुक्रबार

‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग

blog

तस्बिर : रासस

चितवन, माघ १८ गते । भरतपुर महानगरपालिका-१ ठिमुरास्थित चितवन मिल्क उद्योग छ । यहाँ आज बिहान पनि दूध बोकेका ट्याङ्करको लामो लाइन लागेको थियो । सहकारी र निजी डेरी फार्महरुले सङ्कलन गरेको दूध बजारमा खपत हुन नसकेपछि ती ट्याङ्करहरू उद्योगमा दूध बोकेर आएका थिए । 

बजारमा दूध खपत नभएपछि प्रशोधन गरेर धुलो बनाउन ती ट्याङ्कर यहाँ आएका हुन् । नेपाल डेरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार दाहाल यसरी आएको दूध उक्त उद्योगले प्रशोधन नगरेको भए दूध फाल्नुको विकल्प नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चितवन मिल्क नभएको भए तपाईंले आज बिहान देखेको ट्याङ्करको दूध खोलामा फाल्नुको विकल्प थिएन ।” 

केही वर्ष अघिसम्म दूध धेरै उत्पादन हुने समयमा मिल्क होलिडे गर्ने गरिएको थियो । अध्यक्ष दाहालका अनुसार पछिल्लो आँकडाअनुसार नेपालमा दैनिक ७५ लाख लिटर दूध उत्पादन हुने गर्दछ । त्यसमध्ये आधा दूध घर र बाँकी व्यावसायिक प्रयोजनमा प्रगोग हुने गरेको छ । व्यावसायिक प्रयोजनमा प्रयोग हुनेमध्ये ३३ प्रतिशत दुग्ध विकास संस्थानसहित व्यावसायिक उद्योगहरुमा प्रशोधन गरेर बजारमा पठाइन्छ भने बाँकी स्थानीय डेरी पसलले प्रशोधन नगरी बजारमा पठाउने गरेका छन् । 

वैशाखदेखि असोजसम्म दूधको उत्पादन कम हुने गर्दछ । यो समयमा अरु बेलाको तुलनामा ४० प्रतिशतसम्म दूध कम हुने आँकडा छ । बढी उत्पादन भएको बेला दूधलाई प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ । नेपालमा चितवन मिल्कसहित पोखराको सुजल, भक्तपुरको शिवपुरी, विराटनगरको सूर्याेदय र सगरमाथासँगै बागमती प्रदेशको हेटौँडा डेरीले दूधको धुलो बनाउने गरेका छन् । 

क्षमताको हिसाबले चितवन मिल्कले सबैभन्दा बढी प्रशोधन गर्ने गरेको नेपाल डेरी उद्योग सङ्घले जनाएको छ । मङ्सिर र पुस महिनामा दैनिक दुई लाख ५० हजार लिटर दूध प्रशोधन हुने गरेकामा माघ लागेपछि सबै उद्योगले गरी दैनिक दुई लाख लिटर दूध प्रशोधन हुँदै आएको छ । चितवन मिल्कले भने दैनिक ८० हजार लिटर दूध प्रशोधन गर्दै आएको छ ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार उद्योगले एक ‘सिफ्ट’मा एक लाख लिटरसम्म दूध प्रशोधन गर्न सक्छ भने २४ घण्टा सञ्चालन गर्दा दुई लाख लिटर दूध प्रशोधन हुन्छ । उपकरणमा केही खराबी देखिएकाले अहिले एक सिफ्टमा ८० हजार लिटर मात्रै प्रशोधन गरिँदै आएको उहाँले जानकारी दिनुभयो । प्रबन्धक पराजुलीले भन्नुभयो, “हामीले यो बेला प्रशोधन नगर्ने हो भने किसानले मिल्क होलिडे बेहोर्नुपर्छ ।” 

हाल सो उद्योगमा देशैभरबाट दूध आउने गरेको छ । १२ वटा सहकारी संस्था र करिब ५० वटा निजी डेरीले यहाँ दूध पठाउने गरेका छन् । वि.सं.२०७५ सालदेखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गरिरहेको प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिलिटर पाउडर दूधको एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । वि.सं.२०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भए पनि पुनः सञ्चालनमा आएको थियो । रासस