• १४ माघ २०८१, सोमबार

ब्रान्डिङको पर्खाइमा एभोकाडो

blog

कविराज घिमिरे

हिले, माघ १३ गते । पछिल्लो समय धनकुटामा एभोकाडोको खेती बढ्दो छ । एभोकाडो खेतीको क्षेत्र विस्तार र उत्पादन पनि उत्साहजनक भए पनि जात पहिचान, गे्रडिङ र ब्रान्डिङको काम नहुँदा कृषकलाई समस्या हुने गरेको छ । किसान एभोकाडोको जात, प्रकार, खेतीको प्रविधि र यसमा लाग्ने रोगकिराबारे जानकार छैनन् । 

धनकुटाको कर्मिटारका एभोकाडो उत्पादक किसान गोविन्द श्रेष्ठ सुन्तला खेतीको विकल्पमा किसान र सरोकारवाला निकायले एभोकाडोको रोज्दै आए पनि उत्पादन गर्ने किसान एभोकाडोको जात, प्रकार, खेती गर्ने प्रविधिबारे जानकारी नहुँदा समस्यामा भइरहेको बताउनुहुन्छ । कृषिमा काम गर्ने निकायले यसप्रति चासो दिनुपर्ने उहाँको भनाइ छ । 

विभिन्न खालका भिटामिन, चिल्लो पदार्थ र खनिज पाइने हुनाले यसका उपभोक्ता पनि दिनप्रतिदिन बढ्दै गएका छन् । बढ्दो बजार मागका कारण खेतीमा लाग्न चाहने किसानको सङ्ख्या पनि थपिँदै गएको छ । धनकुटा नगरपालिकामा अहिले चार हजार ९२६ किसान परिवारले १२ हजार ९९ रोपनीमा एभोकाडो खेती हुने गरेको धनकुटा नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । धनकुटा नगरपालिकामा मात्रै एभोकाडोको बिरुवा र फल बिक्रीबाट वार्षिक करिब आठ करोड रुपियाँको कारोबार हुन्छ । धनकुटाको टेकुनालाका किसान रसबहादुर राई एभोकाडो खेतीमा आफ्नो लगाव भए पनि जात र प्रविधिबारे आफू प्रस्ट नभएको बताउनुहुन्छ । एभोकाडो उत्पादनमा देखिएका चुनौती त छँदै छन् । अब उत्पादनको पहिचान र विश्वसनीयताका लागि ब्रान्डिङ अनिवार्य सर्त हो  धनकुटामा एभोकाडो खेतीले व्यावसायिक रूप लिन थाले पनि ग्रेडिङ र ब्रान्डिङको काम हुन नसकेको राईको गुनासो छ । 

उत्पादक किसानले एभोकाडो बिक्रीबाट अपेक्षा गरिए अनुसार लाभ हासिल गर्न नसकेको धनकुटा नगरपालिका–७ का अर्का एभोकाडो उत्पादक किसान दिनेश श्रेष्ठ बताउनुहुन्छ । धनकुटामा एभोकाडो फलको खेती विस्तार र उत्पादनले व्यावसायिक रूप लिँदै गएको छ । धनकुटामा उत्पादित एभोकाडो आफ्नै पहिचान लिएर उपभोक्तामाझ पुग्न सकेको छैन । धनकुटामा उत्पादित एभोकाडोको ट्रेडमार्कबारे स्थानीयस्तरमा औपचारिक र अनौपचारिक छलफल हुने गरेको भए पनि यसको ठोस कार्यान्वयन भने नभएको श्रेष्ठले बताए । 

यसैबिच गुणस्तरीय एभोकाडो उत्पादन, लेभलिङ र ब्रान्डिङका साथै बाह्य बजार प्रवर्धनका लागि प्रक्रियागत काम अघि बढाइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउनुभयो । एभोकाडो खेतीको प्रवर्धनदेखि लेभलिङ र ब्रान्डिङलगायतका काममा स्थानीय सरकारले आफ्नो तहबाट गर्न सक्ने कार्य गरिरहेको समेत प्रमुख तामाङको भनाइ छ । 

अहिले धनकुटाका किसानलाई गुणस्तरीय एभोकाडो उत्पादन गर्नुपर्ने चुनौती छ । एभोकाडो गुणस्तर सुधार गरी यसको ब्रान्डिङ र लेभलिङ गर्नसके मूल्य शृङ्खला बढाएर किसानको आम्दानीमा थप सुधार ल्याउन सकिने जानकारको भनाइ छ । आन्तरिक बजारमा प्रतिस्पर्धात्मक लाभ लिन सकिने मात्र नभई अन्तर्राष्ट्रिय बजारमा निर्यातका अवसर प्राप्त हुन सक्छन् । बजारमा बिक्रीको अवसर सुनिश्चित गर्न धनकुटाले एभोकाडो ब्रान्डिङको काममा ढिलाइ गर्न नहुने कृषि अभियन्ता जीवनप्रसाद राई बताउनुहुन्छ ।

धनकुटामा कुनै समय गुणस्तरीय उत्पादन र नगदे बालीका रूपमा रहेको सुन्तलामा मौसम परिवर्तन, रोग किराको प्रकोप, तापक्रम वृद्धिलगायतका कारण मासिँदै गए पछि धनकुटाका किसानका लागि एभोकाडो खेती एक नयाँ अवसर बनेको छ ।