जुम्ला समाचारदाता
जुम्ला माघ, १३ गते । जुम्लामा कर्णालीका आठ जिल्लाका कृषि अधिकृत तथा कृषि प्राविधिकलाई स्याउको बगैँचा व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ । स्याउको बगैँचा काँटछाँट गर्ने, कलमी गर्ने, बोट व्यवस्थापन गर्नेलगायतका विषयमा तिनदिने व्यवस्थापनसम्बन्धी तालिम दिइएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका प्रमुख खेमबहादुर शाहीका अनुसार कर्णालीको हुम्ला, मुगु कालीकोट, डोल्पा, सुर्खेत र जुम्ला, सुदूपश्चिमको दार्चुला, अछाम, बाजुरालगायत ३३ जना कृषि अधिकृत तथा कृषि प्राविधिकलाई स्याउको बगैँचा व्यवस्थापनसम्बन्धी तालिम आयोजना गरिएको हो ।
स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख शाहीका अनुसार तालिममा उच्च घनत्व रहेका बिरुवाको बगैँचा व्यवस्थापन तथा काँटछाँट, सिँचाइ व्यवस्थापन, रोगकिरा व्यवस्थापन, मलजल व्यवस्थापन, काँटछाँट र जातीय पहिचानका विषयमा गहन सिप सिकाइएको छ । उहाँका अनुसार सहभागीहरूलाई बगैँचामै गएर पनि अभ्याससमेत गराइएको छ । जुम्लामा ५२ हेक्टर क्षेत्रफलमा एक लाख ६५ हजार बढी स्याउको बिरुवा रोपिएको छ ।
जुम्लामा आएर तालिम लिन पाएकोमा प्राविधिकले खुसी व्यक्त गरेका छन् । डोल्पाका कृषि अधिकृत गोविन्दबहादुर मल्लले यो तालिम आफ्ना लागि महìवपूर्ण रहेको बताउनुभयो । यसरी बगैँचामा गएर अभ्यास गर्न नपाएको उहाँको भनाइ थियो । कृषि अनुसन्धान केन्द्र जुम्लाका प्रमुख डा. नवराज आर्चायले स्याउ गुणस्तर बढाउनका लागि बगैँचा व्यस्थापनमा निकै ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ काठमाडौँ खुमलटार, ललितपुरका वरिष्ठ कृषि अधिकृत दिनेशप्रसाद सापकोटाकाले जुम्ला मात्रै नभई समग्र कर्णाली नै स्याउमा आत्मनिर्भर हुने सम्भावना बोकेको बताउनुभयो । उहाँले परम्परागत रूपमा रहेका स्याउ र फुजी जातको स्याउको बगैँचा व्यवस्थापनबारे तालिम दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरिएकाले स्याउ उत्पादनमा पनि अर्गानिक विधि अपनाउनुपर्नेमा जोड दिनुभयो ।