• ७ वैशाख २०८२, आइतबार

हराए कौशलका कोठी

blog

मोरङको कटहरी गाउँपालिकामा अन्न भण्डारणका लागि राखिएको कोठी ।

नवराज कट्टेल

विराटनगर, माघ १३ गते । तराई मधेशमा अन्नबाली भण्डारण गरिने पारम्परिक कोठी र भकारी फाट्टफुट्टबाहेक देखिँदैन । विकल्पमा प्लास्टिकका सामग्री भित्रिएपछि बाँसका चोया खेलाउने दिन पनि सकिए तर कौशलको सिप मानिने कोठी र भकारीको प्रयोग पनि सकियो । 

तराई मधेशका भित्री ग्रामीण बस्तीमा जहाँ जमिनको खण्डीकरण हुन पाएको छैन, त्यहाँ भकारी र कोठी अहिले पनि चलनमा छन् । अन्न भण्डारणको यो विशेष सिप र कौशल भरिएको सामग्रीसँगै पारम्परिक संस्कृति सङ्केत पनि मानिन्थ्यो । दुई दशकअगाडिसम्म तराईका किसानका घरआँगनमा अन्नबाली भण्डारण हुन्थ्यो । त्यसबेला माटोबाट बनाइने कोठी र बाँसको चोयाबाट बुनिने भकारी भेटिन्थे । प्राकृतिक भण्डारणका यी सामग्री अहिले लोप झैँ भइसकेका छन् । 

लिसाइलो माटो मुछेर त्यसबाट बनाइने कोठीमा राखेको बालीमा घुन लाग्दैनथ्यो । यसैले यसको प्रयोग सर्वव्यापक थियो । न घुन लाग्ने न त पोखिने यस्तो सामग्री प्राकृतिक मात्रै थिएन, विषादीरहित पनि हुन्थ्यो । कोठीमा राखेको धान कुटाएर खाना खाँदा यसको स्वादमा समेत प्राकृतिकपन थियो । यति मात्रै होइन, बर्सौंसम्म राखे पनि अन्नको गुण ह्रास नहुने जानकार बताउँछन् । मोरङ कटहरी गाउँपालिका–१ निवासी सुनैनादेवी राजवंशीका अनुसार प्राचीन मिथिला क्षेत्रमा काटाका कोठी बनाउनु कौशलका रूपमा लिइन्थ्यो । मिथिलाको यो कौशल तराईका जिल्लामा प्रचलन थियो । खाद्यान्न सुरक्षाका लागि भरपर्दो सामग्री भए पनि यो मिथिलाको कौशल र संस्कृतिसँग जोडिएको राजवंशीको भनाइ छ । “तराई मधेशमा बुहारी छनोट गर्नुपूर्व कोठी र काँसको गुभोबाट ढकी बनाउने सिप भए/नभएको सोधिन्थ्यो,” राजवंशीले भन्नुभयो, “कन्यालाई यही प्रश्न सोधेर विवाहको निचोड निकाल्ने प्रचलन थियो । विवाह हुन योग्य भएकी छोरीलाई कोठी र ढकी बनाउने सिप माइतीघरमै बनाउन सिकाउनुपर्ने परम्परासमेत अहिले हटिसकेको छ । तराईमा बिघौँबिघा जग्गामा उत्पादन भएका अन्न गहुँ, चना, रहरदेखि धानसम्म थन्क्याउन भ्याइनभ्याइ हुन्थ्यो । त्यसबखत खाद्यान्नको सुरक्षाका लागि कोठी बनाउने प्रचलन थियो । कोठीमा नअट्ने खाद्यान्नलाई भकारीमा राखिन्थ्यो । जुन पहिला प्रयोगमा ल्याइन्थ्यो र पछि कोठीको चलाइन्थ्यो । 

तराईका क्षेत्रमा बिन र डोम समुदायको सिप मानिन्छ, भकारी तर भकारीको प्रयोग नै हुन छोडेपछि उनीहरूको सिप पनि मर्दै गएको गुनासो छ । 

मोरङ धनपालथान गाउँपालिका–५ निवासी निर्मला ऋषिदेवले धान राख्ने भकारीको माग घट्दै गएको सुनाउनुभयो । उहाँले आजकल कतिपयले घरको सिलिङमा यसको प्रयोग गर्ने चलन चलाइरहेका छन् । अर्गानिक घर वा खाजाघर वा होटेल तथा रेस्टुरेन्ट चलाउनेले चोयाबाट बुनेका भकारी (चित्रा) को माग गर्ने गरेका छन् तर पहिलाको जस्तो धेरै माग भने हुने गरेको छैन ।