मार्तडी समाचारदाता
मार्तडी (बाजुरा), माघ ११ गते । हिउँद सुरु भएपछि बडीमालिका–७, ढम्कनेकी सरा बोगटीको आँखामा राडीपाखी र ओछ्याउने फेरेको झझल्को आइरहन्छ । दुई दशकअघिसम्म हिउँदभर तानमा झुम्मिने उहाँलाई अहिले चिसोले सताउँदा त्यही राडीले जिस्क्याएको आभास गर्नुहुन्छ ।
उहाँ दुई दशकअघिसम्म हिउँदभरि तानमा झुम्मिने र रात पनि त्यसैको न्यानोमा बिताउने गर्नुहन्थो तर विगतमा जस्तो पकाउनुअघि र खान दिएपछि त्यही तानमा झुम्मिने बानी भने अहिले उहाँको हराइसकेको छ । केवल परम्परालाई धान्न र आफ्नो आङ भर्न मात्रै तानको फेदमा बसेर राडीपाखी, फेरे बुन्ने गरेको उहाँले बताउनुभयो । भेडाको उनबाट बनाइने राडी ओढ्दा पनि नबिझाओस् भनेर मसिनो गरी बुन्ने गरिन्थ्यो र उपभोक्ताले पनि त्यही मन पराउँथे भन्दै उहाँले तर अहिले त्यसको महìव घटेको बताउनुभयो ।
अहिले बजारमा सिरक, डसना बनाउने धुनिया घर घर पुग्न थालेपछि राडीको महत्व हराएको उहाँले बताउनुभयो । केही वर्षअघिसम्म आफूहरूले बनाएको राडीपाखी चाइनालगायत थुप्रै ठाउँमा बिक्री हुने गर्थे, गाउँघरमा पनि किन्थे तर अहिले बिक्री नै हुन छाडेको बोगटीले बताउनुभयो ।
“यो जमानामा कार्पेट, पातलो खाले गलैँचा नै आएपछि त कसले झन्झट गर्ने र, बोगटीले भन्नुभयो, “भेडा पाल्ने क्रम पनि घट्दै जाँदा उन पाउन पनि गाह्रो भएको छ ।”
बोगटी जस्तै सीताले पनि भेडीगोठ जाने र ‘चिसोले मर्न लाग्यो हों, एउटा त बुन्देन’ भन्दै आउने आफन्तसँग पनि यसको महत्व घटेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “बुझ्ने हो भने यसको महत्व धेरै छ, यसको मूल्य पनि १० हजारभन्दा माथि पर्छ ।” अहिलेको युवापुस्ताले विगतका पेसालाई समाल्ने मन नगर्दा यो पेसा नै सङ्कटमा परेको छ ।”
अहिले सिरक ओढ्नका लागि परिवारका सदस्यमा तँछाडमछाड गर्छन्, कसैले पनि राडीतिर हेर्दैनन् । पहिला भने गाउँघरमै पाइने राडी ओढेर, फेरे ओछ्याएर बिताउनुपथ्र्यो, त्यो सम्झना अझै ताजै रहेको उहाँले बताउनुभयो । आधुनिक युग आएपछि परम्परादेखि गरिँदै आएका सिपको महत्व घट्दै गएको बताउँदै बोगटीले पछिल्लो पुस्ताका युवाको यसप्रतिको आकर्षण घटेको बताउनुभयो । यी परम्परागत सिपलाई संरक्षण गर्न जरुरी रहेको बताउँदै उहाँले युवासँग सिप र रोजगारी नभएका कारण बिदेसिने गरेको बताउनुभयो । भेडाको उनबाट बनाइने राडी, उन सङ्कलन गरिसकेपछि ठुलो भाँडोमा साबुनपानीले मज्जाले धोइन्छ । साबुन नहुँदा रिट्ठाको फिँज, खरानीलगायतका वस्तु मिसाएर तातोपानीमा उमालेर धुने चलन थियो । चोयाबाट बनाइएको ठुलो झाँकीमा लगाउनुअघि पानीको पोखरी नै बनाइन्छ । राम्ररी नधोए भेडाको गन्ध आउने भएकाले मिची मिची बनाएको उन सिनिक्क सुकेपछि चर्खामा लगाएर धागो बनाइन्छ । ठुला, साना गरेर साइज साइजका धागो बनाइसकेपछि सानो ढकनीमा राखेर बाँसको तोस्रोले तान्दै हिर्काउँदै बुनिन्छ ।
प्रचारका लागि गाउँ, ठाउँ र कति पाटे भनेर नामसमेत लेख्ने गरिन्थ्यो । बाह्रैमास हिउँ पर्ने उच्च हिमाली भेग र औल क्षेत्रमा समेत हरेक हाटबजारमा राडी किनबेच हुन्थ्यो । पहिले एउटा गोठमा चार/पाँच सय भेडा हुन्थे । अहिले ७०/८० भन्दा बढी भेडा गोठमा पनि पाइँदैन । भेडाले गर्मी मान्ने भएकाले हिमालमै हुँदा उन काटेर मात्रै ओरालो झारिन्छ । वर्षमा चार पटक काट्ने उन दुई पटक हिमाली क्षेत्रमा खपत हुने व्यवसायीले बताएका छन् ।