गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ११ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि बैङ्कको भूमिका पनि महत्वपूर्ण हुने भन्दै तरलतालाई उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
राष्ट्रिय वाणिज्य बैङ्कको बिहीबार राजधानीमा आयोजित ६० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाब र चापमा रहे पनि अर्थतन्त्रका समस्यालाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोसिस भइरहेको बताउनुभयो ।
समग्र अर्थतन्त्रलाई गतिशील, चलायमान बनाउने र उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा तीव्रतासाथ सरकार लागिरहेको उहाँले बताउनुभयो ।
बैङ्कले आफ्नो देशव्यापी शाखा सञ्जालमार्फत मुलुकभरबाट निक्षेप परिचालन गरी कर्जा लगानीमार्फत मुलुकको आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याएकामा प्रशंसा गर्दै उहाँले लगानी प्रवर्धन, उत्पादन अभिवृद्धि तथा रोजगारी सिर्जनाका लागि वित्तीय स्रोत परिचालन गर्ने काममा उक्त बैङ्कले थप योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थागत सुदृढीकरण, व्यावसायिक क्षमता वृद्धि, आर्थिक अनुशासन, आधुनिक प्रविधिको प्रयोग र सेवा विस्तारमा अझ बढी जोड दिँदै निक्षेप परिचालन, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह र नवीनतम बैङ्किङ सेवा प्रदान गरी मुलुकको द्रुत आर्थिक विकासमा राष्ट्रिय वाणिज्य बैङ्कलाई थप सहयोगी बन्न आग्रह गर्नुभयो ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सरकारी स्वामित्वमा स्थापना भई सञ्चालनमा रहेको बैङ्कले स्थापनाकालदेखि नै ग्रामीण एवं दुर्गम स्थानमा समेत आधारभूत बैङ्किङ सेवा प्रदान गर्दै वित्तीय स्रोतसाधनको पहुँच विस्तारमा अग्रणी र उत्तरदायी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
लामो यात्रामा विभिन्न आरोहअवरोह पार गर्दै अगाडि बढिरहेको बैङ्कले अर्थतन्त्रका मुख्य आधारका रूपमा रहेका कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार विकास तथा साना मझौला व्यवसायको प्रवर्धनमा वित्तीय सेवा प्रवाह गर्दै आएको उहाँले बताउनुभयो ।
बैङ्क सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल सरकारले प्राथमिकता प्राप्त क्षेत्र कृषि, ऊर्जा, पर्यटन तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न बैङ्क निरन्तर लागिपरेको बताउनुभयो । उहाँले बैङ्कले सुन खरिदबिक्री गर्ने कार्यसमेत सुरु गरेको बताउँदै बैङ्किङ सेवा सुविधामा गुणस्तर अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकतासाथ कार्य गरिरहेको बताउनुभयो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैङ्कको वर्तमान स्थिति र समग्र योजनाबारे जानकारी गराउँदै भर्खरै आर्थिक वर्ष २०८०/८१ को वार्षिक लेखा परीक्षण सम्पन्न गरेको बताउनुभयो । चालु आव २०८१/८२ को पुस मसान्तमा बैङ्कको कुल निक्षेप चार खर्ब ५० अर्ब, कुल कर्जा सापट दुई खर्ब ८४ अर्ब, चुक्ता पुँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ति पाँच खर्ब २६ अर्ब तथा नेटवर्थ ५२ अर्ब पुगेको उहाँले जानकारी दिनुभयो । साथै पुस मसान्तमा बैङ्कको कोषको लागत ३.८१ प्रतिशत तथा आधारदर ५.४४ प्रतिशत रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बैङ्कको ६० औँ वार्षिककोसवका अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०८१ विमोचन गरिएको थियो । साथै बैङ्कका हालै सञ्चालनमा आएका २७ वटा शाखा कार्यालयको डिजिटल माध्यमबाट औपचारिक रूपमा उद्घाटन गरिएको थियो ।
वार्षिकोत्सवकै अवसरमा कोहलपुर र महेन्द्रनगरमा नवनिर्मित भवनको डिजिटल माध्यमबाट उद्घाटन गर्नुका साथै पूर्वकर्मचारी सम्मान कार्यक्रमका साथै उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट/उत्कृष्ट बैङ्क सेवा पुरस्कार घोषणा गरिएको थियो ।