भैरहवा समाचारदाता
भैरहवा, माघ ११ गते । कम सादृश्य (भिजिबिलिटी) मा पनि उडान गर्न मिल्ने गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायर्ड’ (आरएनपी–एआर) प्रणाली बिहीबारदेखि लागु भएको छ ।
विमानस्थल प्रशासनका अनुसार यो प्रविधि जडान भएपछि अब कम भिजिबिलिटीका कारण उडान तथा अवतरणमा हुने अवरोध हट्ने छ । कम भिजिबिलिटीका कारण उडान तथा अवतरणमा समस्या भएपछि यसअघि ‘इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम’ (आइएलएस) प्रणाली जडानको प्रयास थालिएको थियो तर भारतले अनुमति नदिएपछि यो प्रणाली जडान हुन सकेन । उक्त योजना असफल भएपछि भूउपग्रहमा आधारित आरएनपी–एआर प्रणाली लागु गरिएको हो ।
गौतम बुद्ध विमानस्थलमा विशेष गरी जाडोयाम अर्थात् मङ्सिर, पुस र माघमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्तै कम हुने गरेको छ । जसका कारण आन्तरिक र बाह्य उडानसमेत प्रभावित हुने गरेका छन् । यसको समाधानका लागि आरएनपी–एआर प्रणाली लागु गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल यान्त्रिक विधि (आइएफआर) मा उडान गर्दा विमानस्थलको न्यूनतम भिजिबिलिटी एक हजार आठ सय मिटर चाहिने अवस्था छ । “अब आरएनपी–एआर विधिमा नौ सय मिटर भिजिबिलिटी भए जहाज उडान तथा अवतरण गर्न सक्ने छन्,” महाप्रबन्धक तिवारीले भन्नुभयो ।
मङ्सिर पहिलो सातादेखि उडान सुरु गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिरा एयरवेजले भिजिबिलिटी र अन्य कारण देखाउँदै एक महिना मात्रै उडान गरेर सेवा बन्द गरेका थिए । नेपाल एयरलाइन्सले भने काठमाडौँ–भैरहवा–दुबई साताको चार दिन उडान गर्दै आएको छ ।
आरएनपी–एआर प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ । ४२ दिने सूचना प्रकाशन अवधि पूरा भएकाले बिहीबारदेखि भूउपग्रहमा आधारित आरएनपी–एआर एप्रोच विधि औपचारिक रूपमा लागु भएको उहाँले बताउनुभयो ।
महाप्रबन्धक तिवारीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट ‘आरएनपी–एआर’ प्रणाली लागु भए पनि अब विदेशी वायु सेवाले आफ्नो देशको विभागीय मन्त्रालयसँग अनुमति लिई आफ्ना पाइलटलाई तालिम दिएर परीक्षण उडान गरेपछि मात्रै यो विधि व्यवहारमा कार्यान्वयन हुने छ ।
उहाँले यो प्रणाली विमानस्थलमा कुनै उपकरण जोडेर लागु हुने नभई न्यारो बडी (‘ए’ ३२०) र वाइड बडी (‘ए’ ३३०) सिरिजका जहाजमा लागु हुने बताउनुभयो । तिवारीले भन्नुभयो, “ती जहाजमा आरएनपी–एआर प्रणाली लागु गर्न सकिने सिस्टम हुन्छ, अब गौतम बुद्ध विमानस्थलमा उडान तथा अवतरण गर्ने ‘ए’ ३२० र ‘ए’ ३३० स्तरका जहाजले यो प्रणाली लागु गर्नुपर्ने हुन्छ ।”
विदेशी वायु सेवा कम्पनीले यो विधि लागु गर्न सम्बन्धित देश र नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रावधान पूरा भएका आधारमा अनुमति लिनुपर्ने हुन्छ । महाप्रबन्धक तिवारीका अनुसार त्यसपछि पाइलटलाई यो विधिमा अवतरण गराउन तालिम (टेस्ट फ्लाइट) चाहिने हुँदा यी सबै प्रक्रिया पूरा गर्न समय लाग्छ ।
त्रिभुवन विमानस्थलमा रहेको आरएनपी–एआर प्रणालीले एक हजार एक सय मिटरको न्यूनतम भिजिबिलिटीमा काम गर्छ भने गौतम बुद्धमा नौ सय मिटर भिजिबिलिटीमा काम गर्छ । भिजिबिलिटीको समस्या देखाउँदै उडान बन्द गरेको जजिराले फेब्रुअरी १ बाट उडान गर्ने पनि तिवारीले जानकारी दिनुभयो ।
फ्लाई दुबईले जनवरी १३ बाट उडान सुरु गरेको छ । कतार एयरवेजले नोभेम्बर ३० सम्मको मात्र उडान अनुमति लिएको थियो । त्यसयता उडान अनुमति लिएको छैन भने उडान गर्ने/नगर्ने केही जानकारी गराएको छैन । हालसम्म फ्लाई दुबईले आरएनपी–एआर एप्रोच प्रणाली लागु गर्न चासो र रुचि देखाएको महाप्रबन्धक तिवारीले बताउनुभयो । उहाँका अनुसार जजिराका केही जहाजमा यो प्रणाली जडान छ ।