• १० माघ २०८१, बिहिबार

काँक्राको बिउ उत्पादनले प्रख्यात गाउँ

blog

पर्वतको दक्षिणी भेगमा पर्ने कर्नास गाउँ । तस्बिर: गोरखापत्र

प्रनिश गिरी

पर्वत, माघ १० गते । पर्वतको दक्षिणी भेगमा पर्ने एक गाउँ जसले विगत २५ वर्षदेखि निरन्तर काँक्राको बिउ उत्पादन गर्दै आएको छ । जिल्लाको फलेवास नगरपालिका वडा ११ मा पर्ने कर्नासमा रहेका सबै गाउँले काँक्राको बिउको व्यावसायिक उत्पादनमा रमाएका छन् ।

कृषक सूर्यबहादुर कुँवरको अगुवाइमा नारायणस्थान बिउ उत्पादन समूहको २०५७ सालमा स्थापना भएपछि काँक्राको बिउ उत्पादनको व्यावसायिक सुरुवात गरिएको थियो । अगुवा कृषक ६० वर्षे विश्वराम उप्रेतीका अनुसार कर्नास गाउँका कृषकहरूले गत वर्ष ७० क्विन्टल विक्री गरेका थिए भने यस वर्ष ६३ क्विन्टल काँक्राको बिउ उत्पादन गरेका हुन् । उत्पादित भक्तपुरे लोकल जातको काँक्राको बिउलाई प्रति केजी १० हजार रुपियाँका दरले विक्री गर्दा ६ करोड ३० लाख रुपियाँ गाउँमा भित्रिएको अगुवा कृषक बाबुराम भुसालले बताउनुभयो ।

 समूह गठन भएको सुरुको वर्ष कृषकहरूले ४ केजी काँक्राको बिउ उत्पादन गरेका थिए भने ६५ केजी चालिस दिने मूलाको बिउ उत्पादन गरेको अगुवा कृषक भुसाल बताउनुहुन्छ । काँक्राको बिउ उत्पादनका सुरुवाती दिन सम्झिँदै समूहका संस्थापक कोषाध्यक्ष रहनुभएका कृषक भुसाल भन्नुहुन्छ–ूकाक्रोको बिउको सुरुमा ४ केजी उत्पादन गरिँदा प्रति केजी ८ सय रुपियाँका दरले विक्री भएको थियो । बिउ उत्पादन गर्न थालेको दुई तिन वर्षमै ४५ क्विन्टल बिउ उत्पादन गर्न सफल भएका थियौ । केही वर्ष मूला, हाइब्रिड टमाटर, चम्सुर लगायतको बिउ उत्पादन पनि गरियो । काँक्राको बिउबाट नै मनग्य आम्दानी हुन थालेपछि भने केही वर्षदेखि यसैको मात्र व्यावसायिक उत्पादनमा लाग्दै आएका छौँ ।

गाउँमा सक्रिय भई काँक्राको व्यावसायिक बिउ उत्पादनमा लाग्ने घरधुरी ७२ वटा छन् भने बाँकी रहेका केही कृषकहरू समेत यही पेसामा आकर्षित हुँदै गएको पाइन्छ । गाउँमा बर्सेनि ५ लाखदेखि १८ लाख रुपैयाँसम्म बिउ विक्री गरी आम्दानी गर्ने कृषकहरू छन् । कृषक टुकप्रसाद पौडेलले यस वर्ष १ क्विन्टल काँक्राको बिउ विक्री गरी १२ लाख रुपियाँ आम्दानी गर्नुभयो । कृषक पौडेलले दुःख गरे अनुसारको प्रतिफल बिउ उत्पादनबाट हुने गरेकोमा खुसी हुँदै भन्नुहुन्छ–काक्राको बिउ नगदे बाली हो । गाउँबाटै विक्री गर्न पाइएको छ । बिउ उत्पादनसँगै हिउँदे आलु खेती गर्न र पोखरेली जेठा बुढो धान पनि लगाउन पाइएको छ । पहिले मकै खेती गरिन्थ्यो तर उत्पादन राम्रो थिएन । मकैको मूल्य पनि राम्रो आउने थिएन । अहिले भने काँक्राको बिउ विक्रीबाट राम्रो मूल्य मिलेको छ ।

कृषकले फागुनको पहिलो हप्ता रोपेको काँक्रा ज्येष्ठ महिनामा तयार भई थन्क्याउने काम गर्छन् भने उत्पादित बिउलाई असारसम्ममा विक्री गरी सक्छन् । स्थानीय कृषकका अनुसार अधिकांश बिउ काठमाडौँको कालीमाटी बजारका व्यापारीहरूले खरिद गर्दछन् । यसपालि उत्पादित ५० केजी काँक्राको बिउ विक्री गरी ५ लाख कमाइ गर्ने कृषक सूर्यबहादुर सुनार भन्नुहुन्छ–घरकै सदस्य जुटेर बिउ उत्पादन गर्ने गरेका छौ । डेढ दिनको मेलाबाट उत्पादन हुने काँक्राको बिउ विक्रीबाट ५ लाख कमाइ भएको छ । अरू थप विस्तार गर्ने सोचमा छौ । कमाइ राम्रो छ । बिउको बजार मूल्य राम्रो हुँदा विदेश जान तरखर गर्ने युवाहरू गाउँमै बस्ने र यहीँ काम गर्ने मन गरेका छन् ।