धनगढी समाचारदाता
धनगढी, माघ १० गते । कुनैबेला आदिवासी जनजाति थारू समुदायका विवाहित महिलाका लागि अनिवार्य जस्तै रहेको शरीरमा टीका छेडैना (ट्याटु खोप्ने) चलन हराउन थालेको छ ।
टीका छेडाएका व्यक्तिलाई अरूले गिज्याउन थालेपछि अब यो चलन हराउन थालेको हो । अचेल नयाँ पुस्ताले टीका छेडाउँदैनन् । विगतमा थारू समुदायका महिलाले विवाह गरिसकेपछि हातखुट्टामा वन्यजन्तु र घरायसी सामग्रीको टीका छेडाउने गर्दथे । जसमा घोरुवा, हँसिया, बट्ला, चुल्ही, सिट्ठा, मचिया, रैनी मछरिया, मजोंरलगायत हुन्थे । त्यसबेला सबैले टीका छेडाउने गरेका कारण आफूले पनि रहरले टीका (ट्याटु) छेडाएको धनगढी उपमहानगरपालिका–१८, कृष्णनगरकी लौटी चौधरीले बताउनुभयो । “सबै सखी (साथी) ले टीका छेडाएपछि हातखुट्टामा मैले पनि छेडाएँ,” आफ्नो टीका देखाउँदै उहाँले भन्नुभयो, “अहिले त यस्तो चलन हराएको छ । कसैले पनि टीका छेडाउँदैनन् ।”
महिलाले टीका छेडाउन सहज थिएन । सुईले टीका छेडाउँदा ज्वरोसमेत आउने गरेको कैलारी गाउँपालिका–५, बैजपुरकी पवित्रा चौधरी बताउनुहुन्छ । उहाँका अनुसार टीका छेडाउँदा एक हप्तासम्म हातखुट्टामा घाउ रहने गर्दथ्यो । कसै कसैको घाउ पाक्ने पनि गर्दथ्यो । “त्यति कष्ट हुँदा पनि सबैले टीका छेडाउने गर्थे,” उहाँले भन्नुभयो ।
महिलाका अनुसार विगतमा डुल्दै गाउँ गाउँ आउने टीकछेड्नी वा गाउँकै महिलाले टीका छेड्ने काम गर्दथे । त्यो काम गरेबापत कसैले पाँच रुपियाँ त कसैले चामल र अन्डा लिने गर्दथे । टीका छेडैना धेरैका लागि रहर नै थियो तर दाङका महिलाका लागि भने यो बाध्यता जस्तै थियो । विवाह गरेपछि टीका छेडाउनैपर्ने पहिले दङाली चलन रहेको दाङबाट विवाह गरेर बैजपुर आएकी ६८ वर्षीय कमली डङ्गौरा बताउनुहुन्छ । “टीका नछेडाए ससुराले सतगोरी भन्ने गर्थे र बुहारीले दिएको पानी खाँदैनथे,” उहाँले भन्नुभयो, “केटी छँदा टीका नछेडाए पनि विवाहपछि हातखुट्टाभरि टीका हुनै पर्दथ्यो ।” पहिले बाध्यताले टीका छेडाएको आफूलाई अहिले मान्छेले गिज्याउँदा पछुतो लाग्ने गरेको उहाँको भनाइ छ । दाङबाटै विवाह गरेर बैजपुर आएकी ६४ वर्षीय लालमोती चौधरी पनि हातखुट्टामा टीका नभएपछि ससुराले पानी नखाने गरेका कारण विवाहलगत्तै टीका छेडाउने चलन रहेको बताउनुहुन्छ । “भोज भएपछि अनिवार्य टीका छेडाउनु पर्दथ्यो,” उहाँले भन्नुभयो ।
यस्तो थियो जनविश्वास
महिलाले टीका छेडाएमा मरेपछि त्यही टीका बेचेर खान पाइन्छ भन्ने जनविश्वास तत्कालीन समयमा थारू समुदायमा रहेको बताइन्छ । पवित्रा भन्नुहुन्छ, “मरेपछि भगवान्को घर पुग्दा केही हुँदैन । त्यतिबेला टीका बेचेर खान सकिन्छ भन्ने जनविश्वास थियो ।”
यसरी छेडाइन्थ्यो टीका
टीका तीन, पाँच, सात वा ११ वटा सुई एकसाथ शरीरमा घोपेर छेडाउने गरिन्थ्यो । ज्येष्ठ महिलाका अनुसार दियो बालेर त्यसको धुवाँले प्लेट वा कचौराको पछाडि भागमा कालो कर्खा (कालो) लगाइन्थ्यो । त्यही कर्खाले हातखुट्टामा चित्र बनाएर त्यसपछि चित्रमा सुई घोप्ने गरिन्थ्यो । “सुईले घोपिसकेपछि दुबो घाँस पिसी तेलमा फिटेर टीका छेडेको ठाउँमा लगाइन्थ्यो,” कमली भन्नुहुन्छ, “यस्तो गर्दा एक हप्तापछि हातखुट्टामा हरियो हरियो टीका बन्थ्यो जीवनभरिलाई ।”
छेडाएको टीका फुलाउनका लागि एक हप्तापछि माछा मार्ने गरिन्थ्यो । टीका छेडेको व्यक्ति दिनभरि पानीमा रहँदा टीका राम्रो हुने गरेको महिला बताउँछन् । टीका छेडैना आदिवासी जनजाति थारू समुदायका लागि एउटा पहिचान नै रहेको लेखक एवं आदिवासी अधिकारबारे वकालत गर्दै आएकी अभियन्ता इन्दु थारू बताउनुहुन्छ । “टीका छेडैना हातखुट्टामा बुट्टा भर्ने मात्रै होइन, यो आदिवासी जनजाति थारूको पहिचान पनि हो,” उहाँले भन्नुभयो, “तर अरू समुदायका व्यक्तिले टीका छेडाएका व्यक्तिलाई हेयको दृष्टिले हेर्दा नयाँ पुस्ताले टीका नछेडाउने र पुरानाले आफ्नो शरीरको टीका लुकाउने अवस्था सिर्जना भएको छ ।”