• १३ माघ २०८१, आइतबार

युवालाई गाउँमै तालिम

blog

हिमाली गाउँपालिकाले सञ्चालन गरेको जीवनोपयोगी तालिममा सहभागी युवा ।

बाजुरा समाचारदाता

बाजुरा, माघ १० गते । बाजुराको पूर्वीउत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिकाले युवाका लागि जीवनोपयोगी सीप विकास तालिम सञ्चालन गरेको छ । ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने अभियानका साथ पालिकाले गाउँमै दक्ष जनशक्ति उत्पादन गर्ने गरी यहाँका दुर्गम बस्तीका करिब ४० बेरोजगार युवाका लागि तालिम सञ्चालन गरेको हो । गाउँपालिकाको आर्थिक तथा भेरी राप्ती प्राविधिक शिक्षालयको आयोजनामा गत सोमबार पालिकाको तालिम हलमा तालिम सञ्चालन गरिएको हिमाली गाउँपालिकाले जनाएको छ ।

तालिमका सहभागीलाई सिकर्मी र डकर्मीसम्बन्धी ५० दिने तालिम सञ्चालन गरिएको भेरी राप्ती प्राविधिक शिक्षालयका प्राविधिक तथा प्रशिक्षक पारसबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो पटक दक्ष जनशक्ति उत्पादन गर्नका लागि युवा रूपान्तरण कार्यक्रम अन्तर्गत यहाँका ४० युवालाई तालिम दिइएको हो ।” यसमा ४० दिन कार्यस्थलमा आधारित सिप तथा क्षमता विकास एवं १० दिन जीवनोपयोगी सिप विकाससम्बन्धी तालिम दिइने प्रशिक्षक शाहीले बताउनुभयो ।

पालिकामा २२ वटा विद्यालय छन् । दिवा खाजा कार्यक्रम अन्तर्गत केही दिनपछि यी विद्यालयमा नमुना भान्सा, सुधारिएको चुलो, खानेपानी तथा खाद्यान स्टोर कक्ष निर्माण गर्नुपर्ने छ । ती सबै निर्माणको जिम्मेवारी यही तालिममा सहभागी युवालाई दिइने हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पहिलो पटक यी ४० युवालाई दक्ष पार्न लागेका छौँ । पछि यिनीहरूले अन्य युवालाई तालिम दिई उनीहरूलाई समेत दक्ष बनाउँछन् ।”