सलिम मियाँ
बिजुवार, माघ ९ गते । ऐरावती गाउँपालिकाको प्रशासनिक केन्द्र बरौला पुग्ने सडक कालोपत्रेको काम भइरहेको छ । जम्मा २३ किलोमिटर लम्बाइको चेरनेटा–बरौला सडक खण्डमा अहिले कैरनदेखि पकला पार्कसम्मको ६ किलोमिटर सडक कालोपत्रेको काम चलिरहेको हो । चेरनेटादेखि कैरनसम्मको १३ किमि सडक यस अघि नै पक्की छ ।
ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल विक्रम शाहले लुम्बिनी प्रदेश सरकारको सहयोगमा पालिका पहुँच मार्ग कालोपत्रेको काम अघि बढेको जानकारी दिनुभयो । पालिकाको प्रशासनिक केन्द्र पुग्ने थप ४ किमी सडक कालोपत्रेका लागि पनि पहल गरिने अध्यक्ष शाहले बताउनुभयो ।
भ्याटसहित आठ करोड २६ लाख ६५ हजार ६ सय १४ रुपियाँमा ठेक्का सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालय प्युठानका प्रमुख चन्द्र शाहले जानकारी दिनुभयो । उहाँका अनुसार गत असार ११ गते सम्झौता भएको यो सडक आगामी २०८२ पुस १० गतेसम्म कालोपत्रे भई सक्नुपर्ने सम्झौता रहेको पूर्वाधार विकास कार्यालय प्रमुख शाहले बताउनुभयो ।
आँसु निर्माण सेवाले ठेक्का लिएर काम सुरु गरेको यो सडकको भौतिक प्रगति ५० प्रतिशत सकिएको छ ।
नाली बनाउने, पर्खाल उठाउने काम सकेर अहिले ग्राभेल, रोलिङ र ग्रेडिङ गर्ने काम भइरहेको छ । निर्माण व्यवसायी बालाजु श्रेष्ठले साढे ५ मिटर चौडाइमा कालोपत्रे हुने यो सडक तोकिएको समयभन्दा ६ महिना अगावै कालोपत्रे सक्ने गरी काम भइरहेको बताउनुभयो ।