गोविन्द शर्मा
बाँके, माघ ८ गते । बाक्लो हुस्सु र शीतलहरका कारण मङ्गलबार पनि बिहानैदेखि नेपालगन्ज विमानस्थल बन्द छ । नागरिक उड्डयन कार्यालय नेपालगञ्जले बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा विमानस्थल खुल्न नसकेको जनाएको छ ।
नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुम्मतप्रसाद चौधरीले मौसममा सुधार हुनासाथ उडान सुचारु हुने जानकारी दिनुभयो । बिहान ११ बजेसम्म कुनै पनि उडान भएका छैनन । सोमबार पनि दिउँसो ३ बजेसम्म विमानस्थल बन्द थियो ।
चौधरीले भन्नुभयो, "जाडो समयमा बाक्लो हुस्सुका कारण विमानस्थल बन्द गर्नुपर्ने बाध्यता छ ।"
उडान नभएपछि कर्णाली प्रदेशका पहाडी जिल्ला तथा राजधानी काठमाडौंका लागि टिकट लिएर विमानस्थल पुगेका यात्रुहरु मौसम सुधार हुने र उडान हुने आशामा विमानस्थल आसपासमै प्रतीक्षारत छन् ।
नेपालगञ्जबाट राजधानीलगायत कर्णाली प्रदेशका जिल्लामा गरी दैनिक डेढ दर्जन उडान हुने गरेका छन् । नेपालगञ्जबाट कर्णालीका जिल्लामा बिहानीको समयमा उडान हुने गरेको छ । यसैबिच बाक्लो हुस्सु र शीतलहरका कारण बाँकेको जनजीवन प्रभावित भएको छ । सिमसिमे वर्षा झैं शीतलहर चलेको छ । शीतलहरबाट जोगिन मानिसहरु गाउँ र सहरका चोक तथा घर अगाडि आगो तापेर बसिरहेका छन् ।