• ७ माघ २०८१, सोमबार

जनप्रतिनिधि आफ्नै घोडामा

blog

कार्यालय जानुहुँदै वडाध्यक्ष कृष्णप्रसाद फुयाँल ।

सुजन काफ्ले

चरीकोट, माघ ७ गते । जनप्रतिनिधिमा नियमसङ्गत पाउने सरकारी सेवासुविधा लिन तँछाडमछाड गर्ने गरेको खबर सुनिँदै आएको छ । नियमले नमिल्नेमा समेत जबरजस्ती सुविधा लिने जनप्रतिनिधि पनि छन् । केही जनप्रतिनिधि भने आफूले पाएको सुविधा फिर्ता गरेर समाजमा उदाहरणीय बनेका छन् । 

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद फुयाँल स्थानीय तहका अन्य जनप्रतिनिधिभन्दा फरक देखिनुभएको छ । उहाँ उमेरले ५८ वर्षको हुनुभयो । वडाध्यक्षमा विजयी भएपछि नागरिकको सेवामा विकास निर्माणसँगै विभिन्न सामाजिक कार्य गर्दै आउनुभएका उहाँले गाउँपालिकालाई आर्थिक भार कम होस् भन्दै सुविधामा पाएको मोटरसाइकल गाउँपालिकालाई फिर्ता गरेर घोडा चढ्न थाल्नुभएको छ । गएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी हुनुभएका फुयाँलले मोटरसाइकल फिर्ता गरेर एक लाख पाँच हजार रुपियाँमा घोडा किनेर चढ्दै आउनुभएको हो ।

आफूसँगै निर्वाचित वडाध्यक्षहरू मोटरसाइकलमा हुइँकिएर कार्यालय जाँदा आउँदा उहाँ भने हरेक दिन घोडा चढेरै कार्यालय जाउआउ गर्नुहुन्छ । कार्यालयको कामकाजका लागि भनी गाउँपालिकाबाट लिएको मोटरसाइकल उहाँले कार्यालयमै बुझाउनुभएको हो ।

तामाकोशी गाउँपालिकाले पालिकाका सबै वडाका वडाध्यक्षलाई काम गर्न सहजताका लागि मोटरसाइकल उपलब्ध गराएको थियो । आफू जनताको विकासका लागि निर्वाचित जनप्रतिनिधि भएकाले जनताको घरदैलोमा पुगेर काम गर्नका लागि पालिकाको सम्पत्ति प्रयोग गर्न आवश्यक नहुने ठानेर मोटरसाइकल पालिकालाई नै फिर्ता गरिदिएको वडाध्यक्ष फुयाँलले बताउनुभयो । 

“पालिकाको सुविधाबापतको खर्च बरु वडा विकासमा लगानी गर्ने छु,” फुयाँलले भन्नुभयो, “जनप्रतिनिधिले जनताको काम गरेबापत थप सुविधा लिनु पर्छ भन्ने नलागेर सुविधाबापतको मोटरसाइकल फिर्ता गरेको हुँ । अहिले पनि सबै गाउँका कतिपय स्थानमा सडक पुगे पनि मोटरसाइकल लैजान गाह्रो हुन्छ । घोडा चढ्ने भएकाले उकालीओराली र सडक नभएको ठाउँका जनतालाई पनि भेट्न सहज भएको छ ।”

वडाध्यक्ष फुयाँलको अनुभवमा वातावरणमैत्री भए पनि अहिलेको समयमा घोडा चढ्न सुलभ र सस्तो भने छैन । उहाँले परम्परालाई पछ्याउन मन लाग्ने भएकाले आफूले घोडा चढेको बताउनुभयो । “घोडा चढ्दा कतिपयलाई शरीर असन्तुलन भएर ढाड र जिउ दुख्ने हुन सक्छ । मलाई भने पहिले पनि घोडा चढेको हुनाले असहज लाग्दैन,” उहाँले भन्नुभयो ।