• ५ माघ २०८१, शनिबार

एक महिनामा ६५ फरार प्रतिवादी पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यालय भवन । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, माघ ५ गते। जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ भने १३ लाख रुपियाँको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पुस महिनाको प्रगति विवरण अनुसार विभिन्न अपराध गरी लामो समयदेखि फरार रहेका ६५ जना प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ परेकाबाट १९ वर्ष चार महिना २७ दिन कैद र ५१ लाख ५५ हजार १३ रुपियाँ जरिवाना असुल उपर गर्न बाँकी छ। फरार प्रतिवादीलाई जिल्ला प्रहरी बाँकेको फैसला कार्यान्वयन टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।


त्यसैगरी पुस महिनामा प्रहरीले भारतबाट अवैधरुपले भन्सार छली गरेर ल्याइँदै गरेको १२ लाख ९४ हजार १५८ रुपियाँ बराबरको अवैध सामान जिल्ला प्रहरी बाँकेले बरामद गरेको छ। 


एक महिनामा दर्ता भएका ११७ वटा मुद्दामा १२१ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याउँदा ५३ वटा मुद्दा फछ्र्यौट गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। दर्ता भएका ६८१ ठाडो उजुरीतर्फ ६६८ फछ्र्यौट भएको र १३ वटा बाँकी निवेदन फछ्र्यौट प्रक्रियामा रहेका छन्।

जिल्लाभर ट्राफिक कारबाहीतर्फ तीन हजार ५७ वटा सवारीसाधनलाई कारबाही गर्दै २४ लाख ७५ हजार रुपियाँ राजस्व संकलन गरेको छ। अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने ७ वटा ट्याक्टर, एउटा टिप्पर र एउटा जेसीबीलाई नियन्त्रणमा लिएर ४८ हजार आठ रुपियाँ जरिवाना गरेको प्रहरीले जानकारी दिएको छ। सोही दौरानमा तीन जना चालकलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दामा कारबाही गरिएको छ।

त्यसैगरी बाँके प्रहरीले विभिन्न स्थानबाट हराएका तथा चोरी भएका चार वटा मोटरसाइकल र १० वटा स्मार्ट मोबाइल फोन फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको जानकारी दिएको छ भने जानकी गाउँपालिकामा जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै दुई करोड ठगी गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी ४४ निवेदनमा ३२ जनालाई फेला पारेर घरपरिवारको जिम्मा लगाउँदा बाँकी खोजतलासको क्रममा रहेको जानकारी दिएको छ।

समुदाय प्रहरी सहकार्य लगायतका गतिविधि अन्तर्गत जिल्ला प्रहरीले बाँकेले ६३ वटा सचेतनामूलक कार्यक्रम गरेको छ। त्यसैगरी जिल्लाभरमा ट्राफिक प्रहरीले सो अवधीमा २०२ वटा सचेतनामूलक कार्यक्रम गरेको थियो। सचेतना कार्यक्रम अन्तर्गत लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइटलगायत रहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।