• ५ माघ २०८१, शनिबार

‘ब्रेक थ्रु’ को पर्खाइमा सिद्धबाबा सुरुङ (फोटो फिचर)

blog

सिद्धबाबा सुरुङ मार्गमा भइरहेको काम । तस्बिर: रेखीराम राना

रेखीराम राना

तानसेन, माघ ४ गते । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्ध बाबा सुरुङ मार्ग केही दिनपछि ब्रेक थ्रु हुँदै छ । पाल्पाको तिनाउ–३, स्थित सिद्ध बाबा सुरुङ मार्ग छिचोल्न अब डेढ मिटर मात्र बाँकी छ । आगामी माघ ११ गते विशेष कार्यक्रम गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेक थ्रु भएको घोषणा गर्ने कार्यक्रम रहेको छ । 

सात महिनाअघि सुरुङ खन्न थालिएको थियो । सुरुङ निर्माणमा कुनै अवरोध नभएका कारण सुरुङको काम सोचेभन्दा छिटो ब्रेक थ्रु गर्ने अवस्थामा पुगेको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो । यसअघि तीन वटा बाइपास ढोका ब्रेक थ्रु भइसकेको छ । 

पहिलो बाइपास ढोका १५१ मिटर, दोस्रो बाइपास ढोका १६१ मिटर र तेस्रो बाइपास ढोका १३० मिटर ब्रेक थ्रु भइसकेको अधिकारीले बताउनुभयो । एक हजार १२६ मिटर लामो सुरुङ ब्रेक थ्रु भएको घोषणा गर्न भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय भइरहेको छ । मुख्य सुरुङको उत्तर र दक्षिणतर्फबाट वाल फिनिसिङ, लाइरिङ् र विद्युतीकरणको काम पनि सुरु भएको छ । 

दुई वर्षअघिदेखि सिद्धार्थ राजमार्गको तिनाउ–३, दोभान क्षेत्रमा सुरुङ मार्गको प्रारम्भिक काम थालनी भएको थियो । पाँच वर्षभित्र काम सक्ने गरेर २०७८ फागुनमा सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग निर्माणको ठेक्का सम्झौता भएको थियो । कम्पनीले अबको दुई वर्षभित्र सबै काम सक्ने योजना बनाएको छ ।