अमृतप्रसाद पौडेल
म्याग्दी, माघ २ गते । हिमाली जिल्ला म्याग्दीको बेनीमा पुस २८ देखि सुरुभएको म्याग्दी महोत्सवले स्थानीय कला संस्कृतिको सम्बर्धनमा सहयोग गरेको छ । माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सव उद्योग ब्यापार र कलाको विकास गरौं, संस्कृति संरक्षण गर्दै पर्यटन प्रवर्धन गरौं भन्ने मूल नारासाथ सुरु भएको हो ।
महोत्सवले म्याग्दी भित्रका विभिन्न कला संस्कृति र आफ्नो परम्परालाई पुनः अध्यावधिक गर्ने काम गरेको आयोजकको भनाइ छ । बेनीमा सुरु भएको आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवम् प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ को उद्घाटनमा विभिन्न जातजातिले आफ्नो भेषभुषा झल्किने झाँकी प्रदर्शन समेत गरिएका छन् ।
महोत्सवमा ब्राह्मण, क्षेत्री, नेवार, मगर, गुरुङ, परियार लगायतले आफ्नो संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका छन् । नेपाल एकीकरणको सिलसिलामा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि त्यहाँबाट नेपालको विभिन्न क्षेत्रमा पुगेका भक्तपुरे ‘वरिजिन’ का नेवार समुदाय म्याग्दीमा आएर कला प्रस्तुत गरेका छन् ।
उनीहरुले पनि आफ्नो परम्परागत हनुमान नाच र नागानागीनी नाच तथा लाखे नाच महोत्सवमा हनुमान नाचमा बेनीका नेवार समुदायका तीन पुस्ताको सहभागिता रहेको थियो । बाबुछोरा र नाती पुस्ताका नेवारले हनुमान नाचमा सहभागिता जनाएका थिए । नेवारहरुले लाखे, हनुमान र नागानागिनी नाच प्रदर्शन गरेर आफ्नो धार्मिक संस्कारलाई जिवन्त बनाइराख्ने प्रयास गरेको नेपाल भाषा मंका खलका कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
म्याग्दीको बेनी नगरपालिका –४ मा बसोबास गर्ने गुरुङहरुले आफ्नो धार्मिक संस्कारमा प्रयोग गरिने बिधिहरुको झाँकी पनि प्रदर्शन गरेका थिए । तमु प्ये ल्हु संघको अगुवाइमा आएको गुरुङहरुको समूहले मृत्यु संस्कार अर्गुममा बजाइने ढ्याङ्ग्रो तथा झ्याली बजाउँदै धर्मगुरु लामाले पहिरीने पोशाकसहित झाँकी प्रदर्शन गरेको तमु प्ये ल्हु संघका अध्यक्ष राजु गुरुङको भनाइ छ ।
महोत्सवले जातजाति धर्म संस्कृतिको पहिचान हराउनबाट जोगाउने प्रयास गरेको म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । हरेक तेस्रो वर्ष हुने महोत्सवमा भए पनि झाँकी प्रदर्शनका लागि नै भए पनि आफ्नो भेषभषा तथा संस्कृतिको अध्यावधिकजस्तै मान्न सकिन्छ । झाँकीका लागि तयारी गर्दा पनि भुल्ने अवस्थामा पुगेका चिजहरु पनि सोधखोज गरेर थाहा पाउने भएकाले पनि यसलाई अध्यावधिककै रुपमा लिन सकिने उहाँको तर्क थियो ।
हरेक तेस्रो वर्ष महोत्सव र बिचका दुई वर्ष मेला आयोजना गर्दै कला संस्कृतिको संरक्षणका साथै उद्योग ब्यापार र कलाको विकास गर्ने काममा सारथी बन्ने गरेको नेपाल उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिनुभयो ।